कांग्रेस विशेष महाधिवेशनमा ‘कार्यविधि–२०८२’ पारित: देउवा नेतृत्वको कार्यसमितिको विघटन र नयाँ चुनावको व्यवस्था स्पष्ट

nepaltext.com

काठमाडौं । नेपाली कांग्रेसको विशेष महाधिवेशनको बन्दसत्रमा ‘विशेष महाधिवेशन कार्यविधि–२०८२’ पारित भएको छ। जारी बन्दसत्र हलले पारित गरेको कार्यविधि अनुसार अब नयाँ नेतृत्व चयन गर्ने बाटो खुल्ला भएको छ। कार्यविधिमा सभापति शेरबहादुर देउवा नेतृत्वको वर्तमान कार्यसमितिको म्याद सकिएकोले त्यसलाई भङ्‍ग गर्ने र १५औँ महाधिवेशन सम्पन्न नहुँदासम्मका लागि नयाँ नेतृत्व चयन गर्ने व्यवस्था स्पष्ट रूपमा उल्लेख गरिएको छ।

कार्यविधिमा भनिएको छ कि नेपाली कांग्रेसको चौधौं महाधिवेशन २०७८ (मंसिर २४–२८) बाट निर्वाचित मौजुदा केन्द्रीय कार्यसमितिको पदावधि समाप्त भइसकेकोले केन्द्रीय कार्यसमितिको विघटन गरी १५औँ महाधिवेशन सम्पन्न नभएसम्म नयाँ केन्द्रीय कार्यसमितिको निर्वाचन गरिनेछ। साथै, चौधौं महाधिवेशन पश्चात गठित केन्द्रीय निर्वाचन समिति, केन्द्रीय अनुशासन समिति र केन्द्रीय लेखा समिति समेत विघटन हुने व्यवस्था कार्यविधिमा उल्लेख गरिएको छ।

विशेष केन्द्रीय महाधिवेशनमार्फत केन्द्रीय कार्यसमितिको निर्वाचन सम्पन्न गर्न विधानको धारा ३५ बमोजिम एक जना संयोजकसहित पाँच सदस्यीय निर्वाचन समिति गठन गर्ने र महाधिवेशनले गरेको निर्णय प्रमाणीकरण गर्न संयोजकसहित पाँच सदस्यीय निर्णय प्रमाणीकरण समिति गठन गर्ने व्यवस्था पनि कार्यविधिमा समावेश गरिएको छ। साथै, केन्द्रीय कार्यसमिति र केन्द्रीय कार्यसम्पादन समितिले गरेका निर्णयको पुनरावलोकन, आवश्यक सुधार र खारेजीसमेत गर्न सकिने प्रावधान राखिएको छ। पुस २७ र २८ गते बोलाइएको विशेष केन्द्रीय महाधिवेशनलाई पूर्णतया वैधानिक रहेको अनुमोदनसमेत कार्यविधिले गरेको छ।

प्रतिक्रिया