काठमाडौँ । नेपाली कांग्रेसले नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी प्रभावशाली कप्तान सावित्रा भण्डारी ‘साम्बा’ को उपचारका लागि ५ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ। पार्टीका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले एक विज्ञप्ति जारी गर्दै साम्बाको उपचारमा सहयोग पुर्याउनु सबैको सामूहिक कर्तव्य भएको उल्लेख गर्दै उक्त सहयोगको जानकारी दिनुभएको हो।
पार्टीका उपसभापति विश्वप्रकाश शर्माले अखिल नेपाल फुटबल संघ (एन्फा) का अध्यक्षसँग टेलिफोन संवाद गरी खेलाडीको उपचार कोषमा पार्टीका तर्फबाट आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको थियो। सोही प्रतिबद्धता बमोजिम एन्फाको ग्लोबल आईएमई बैंक लिमिटेडमा रहेको खातामा पाँच लाख रुपैयाँ जम्मा गरिएको विज्ञप्तिमा उल्लेख छ।
पार्टी सभापति गगन थापाले देशको प्रतिष्ठा अन्तर्राष्ट्रिय स्तरमा फैलाउन महत्वपूर्ण योगदान पुर्याउनुभएकी प्रसिद्ध खेलाडी ‘साम्बा’ प्रति उच्च सम्मान व्यक्त गर्नुभएको छ। यतिबेला राष्ट्रका तर्फबाट उनलाई साथ दिनु र प्रोत्साहन गर्नु अत्यन्तै जरुरी रहेको भन्दै सभापति थापाले पार्टीको तर्फबाट यो सहयोगको कदम चालिएको बताउनुभयो।
नेपाली कांग्रेसले खेलकुदलाई केवल मनोरञ्जनको साधन मात्र नभई ‘राष्ट्रिय पहिचान’ र ‘राष्ट्र निर्माणमा युवा सहभागिता’ को मेरुदण्ड बनाउने सङ्कल्प समेत गरेको छ। राष्ट्रिय खेलाडीहरूको स्वास्थ्य र भविष्यप्रति राज्य र राजनीतिक दलहरू संवेदनशील हुनुपर्ने सन्देश दिँदै कांग्रेसले साम्बाको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।