नेपाली कांग्रेसका सभापति गगन थापाले पार्टीको आगामी १५ औँ महाधिवेशनबाट पनि आफू नै सभापति दोहोरिने स्पष्ट संकेत गरेका छन् । सर्लाहीको बलरा नगरपालिकामा आयोजित अगुवा कार्यकर्तासँगको भेटघाट कार्यक्रममा बोल्दै उनले आफू विशेष महाधिवेशनबाट भर्खरै मात्रै सभापति बनेको स्मरण गराउँदै अझै लामो समय पार्टी नेतृत्व र सक्रिय राजनीतिमा रहने अठोट व्यक्त गरे । ‘म भाग्ने मान्छे होइन, म कांग्रेसको सभापति बल्ल बनेको हुँ, अब आउँदै गरेको महाधिवेशनबाट फेरि सभापति बन्नुछ, त्यसपछि पनि केही समय सक्रिय राजनीतिमै रहनेछु,’ भन्दै उनले नेतृत्वप्रति आफ्नो प्रतिबद्धता दोहोर्याए । मधेशसँग आत्मीय सम्बन्ध जोड्दै उनले आफूलाई मधेशकै छोरा ठानेर सर्लाही क्षेत्र नम्बर ४ पुगेको बताए । साथै, काठमाडौं क्षेत्र नम्बर ४ का जनताले त्यहीँबाट चुनाव लड्न आग्रह गरिरहेको उल्लेख गर्दै आगामी निर्वाचनमा सर्लाही ४ का मतदाताले पनि आफूलाई उतैबाट उम्मेदवार बन्न आग्रह गर्ने वातावरण बनाउने दाबी गरे । गगन थापाको यो अभिव्यक्तिले पार्टीभित्र आगामी महाधिवेशनको नेतृत्व प्रतिस्पर्धा र भावी राजनीतिक रणनीतिबारे नयाँ संकेत दिएको रूपमा हेरिएको छ ।