चिलिमेमा फेला परेका ५ कर्मचारीको शव परिवारलाई बुझाइयो

nepaltext

रसुवा । भोटेकोशी नदीमा आएको बाढीका कारण चिलिमे जलविद्युत् केन्द्रमा फसेका पाँच कर्मचारीको शव पहिचानपछि बिहीबार सम्बन्धित परिवारजनलाई हस्तान्तरण गरिएको छ ।

चिलिमे जलविद्युत् कम्पनीका प्रबन्ध निर्देशक बाबुराजा महर्जनका अनुसार बाढीमा परी ज्यान गुमाउनेमा केन्द्रका इन्जिनियर सन्तोष पाण्डे, इलेक्ट्रिक सुपरभाइजर मीनराज मोक्तान, चौकीदार श्यामबहादुर थापामगर र तिलकबहादुर थापामगर तथा नेपाल विद्युत् प्राधिकरणका कर्मचारी लाक्पा तामाङ रहेका छन् ।

उनीहरूको शव बुधबार अपराह्न विद्युत् केन्द्रको सुरुङको बाहिरी भागबाट करिब १५० मिटरभित्र रहेको ‘कन्ट्रोल रुम’ क्षेत्रमा फेला परेको थियो ।

फेला परेका शव नेपाली सेनाको हेलिकप्टरमार्फत नुवाकोट लगेर परिवारजनलाई हस्तान्तरण गरिएको महर्जनले बताए । उद्धार तथा खोजी कार्यमा नेपाली सेनाका बाहिनीपतिको नेतृत्वमा भारतीय सेना, सशस्त्र प्रहरी बल र नेपाल विद्युत् प्राधिकरणका कर्मचारीसमेत परिचालित थिए ।

महर्जनका अनुसार भोटेकोशी नदीको सतहभन्दा करिब २० मिटर उचाइमा रहेको सुरुङभन्दा करिब ८५ मिटर माथिसम्म बाढी पुगेको थियो । बाढीले सुरुङ पुरिनुका साथै ११ मेगावाट क्षमताका दुईवटा टर्बाइनसहित जलविद्युत् केन्द्रको सम्पूर्ण संरचना ध्वस्त भएको छ ।

यसैबीच, रसुवाका प्रमुख जिल्ला अधिकारी कमलप्रसाद पाण्डेले खोज तथा उद्धारसँगै राहत वितरणको काम जारी रहेको जानकारी दिए । क्षतिको विवरण सङ्कलन गर्न एक महिनाको समयसीमा तोकी कार्यादेशसहित २५ सदस्यीय समिति गठन गरिएको उनले बताए ।

बाढी प्रभावित क्षेत्रमा आवतजावत सहज बनाउन नदीमाथि तुइन तथा फड्के निर्माण गरिएको छ । साथै, बाढीपछि फैलिन सक्ने हैजा तथा अन्य विपद्जन्य महामारीको जोखिम न्यूनीकरणका लागि आवश्यक औषधिसहित स्वास्थ्य जनशक्तिको व्यवस्थासमेत गरिएको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताए।

प्रतिक्रिया