बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालनमा

nepaltext

काठमाडौं । काठमाडौं उपत्यकाभित्र बिग्रिएका संघीय सडकको मर्मतसम्बन्धी गुनासो तथा सुझाव दर्ता गर्न ‘सडक सुझाव एप’ औपचारिक रूपमा सञ्चालनमा ल्याइएको छ।

पूर्वाधार विकास मन्त्रालयअन्तर्गतको सडक डिभिजन काठमाडौंले सफल परीक्षणपछि एप सञ्चालनमा ल्याएको हो। अब उपत्यकाका नागरिकले संघीय सडकअन्तर्गतका बिग्रिएका सडकको मर्मतसम्बन्धी गुनासो तथा सुझाव एपमार्फत दर्ता गर्न सक्नेछन्।

एपमा दर्ता गरिएको गुनासोको समाधान प्रक्रिया र अवस्थाबारे नागरिकले प्रत्यक्ष जानकारी लिन सक्ने व्यवस्था गरिएको छ। गुनासो सम्बोधन भएपछि त्यसको जानकारीसमेत एपमार्फत उपलब्ध गराइने सडक डिभिजन काठमाडौंले जनाएको छ।

हाल एपमार्फत काठमाडौं उपत्यकाभित्र संघीय सडकअन्तर्गत रहेका करिब ४ सय ७२ किलोमिटर सडकसम्बन्धी गुनासो तथा सुझाव दर्ता गर्न सकिनेछ। संघीय सडकको जिम्मेवारीमा नपर्ने सडकका सम्बन्धमा भने उक्त सडक कुन निकायअन्तर्गत पर्छ भन्ने जानकारीसमेत नागरिकलाई उपलब्ध गराइनेछ।

सडक मर्मतसम्बन्धी गुनासो व्यवस्थापनलाई थप प्रभावकारी बनाउने उद्देश्यले सुरु गरिएको एपलाई देशव्यापी रूपमा विस्तार गर्ने तयारीसमेत भइरहेको छ। आगामी दुई हप्ताभित्र ललितपुर र भक्तपुरलाई एपमा समावेश गरी सेवा विस्तार गर्ने र क्रमशः देशभर सञ्चालनमा ल्याउने लक्ष्य सडक डिभिजन काठमाडौंले राखेको छ।

प्रतिक्रिया