आज विश्वकर्मा पूजा, वास्तु दिवस मनाइँदै

nepaltext

काठमाडौँ । कालिगढ तथा श्रमिकले आज भगवान् विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पर्व मनाउँदैछन् ।

प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन भगवान् विश्वकर्माको विधिपूर्वक पूजाआराधना गर्ने परम्परा छ । यस अवसरमा विभिन्न कलकारखाना तथा उद्योगमा विश्वकर्माको तस्बिर वा मूर्ति स्थापना गरी पूजा गरिन्छ । कलकारखानालाई विशेषरूपमा सजाएर श्रमिकले यो पर्व मनाउने गर्छन् ।

विश्वकर्माको मूर्ति बालुवा तथा अन्य सामग्रीबाट बनाएर वाग्मतीको मुहानस्थल सुन्दरीजललगायत शुद्ध स्थलमा लगेर विसर्जन गर्ने चलनसमेत छ ।

धार्मिक विश्वासअनुसार आजका दिन कालिगढले प्रयोग गर्ने औजार तथा उपकरणको पूजा गर्दा ती लामो समयसम्म टिक्ने, कामका क्रममा नबिग्रने र काममा सफलता प्राप्त हुने विश्वास गरिन्छ । यही मान्यताका कारण इञ्जिन जडित यन्त्र तथा सवारीसाधनको समेत पूजाआराधना गर्ने प्रचलन छ ।

द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरी कृष्णलाई लुकाएको धार्मिक विश्वास रहेको प्रा. तोयराज नेपाल बताउँछन् । एकै रातमा समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरेको विश्वासका कारण विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मान्दै पूजा गर्ने परम्परा सुरु भएको उनको भनाइ छ ।

प्राचीन भारतवर्षमा चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिने गरिन्छ । विश्वकर्माले निर्माण गरेको भनिएको ‘भेद द्वारका’ भारतको गुजरात राज्यस्थित समुद्रको बीचमा रहेको विश्वास गरिन्छ ।

विश्वकर्मालाई वास्तुविद्याका विशिष्ट ज्ञाताका रूपमा समेत लिइन्छ । वास्तुशास्त्री शिव पोखरेलका अनुसार ‘विश्वकर्मा प्रकाश’ नामक वास्तुशास्त्रसम्बन्धी ग्रन्थ विश्वकर्माले नै रचना गरेको विश्वास छ ।

यसैको सम्झनामा नेपालका कालिगढले विश्वकर्माको भव्य पूजाआराधना गरी उनको विद्वता र सीपको सम्मान गर्ने गर्छन् । विश्वकर्माको पूजा गरेमा आफूमा समेत उनको गुण प्राप्त हुने धार्मिक विश्वास रहँदै आएको छ ।

यसैगरी वास्तुशास्त्रका पुस्तकका लेखक तथा अध्येताको सम्झनामा वास्तुविद्ले आजको दिनलाई ‘वास्तु दिवस’का रूपमा मनाउने गरेका छन् ।

पछिल्लो समय नेपालमा वास्तुविद्याको पुनर्जागरणसमेत हुन थालेको छ । चार उपवेदमध्ये एक मानिने स्थापत्यवेदमा वास्तुशास्त्रसम्बन्धी विषय समेटिएको पाइन्छ । लुप्तप्रायः अवस्थामा रहेको स्थापत्यवेदमा आधारित सहर तथा आवास निर्माण गर्ने क्रम बढ्दै गएसँगै नेपालमा वास्तुविद्याको महत्वसमेत पछिल्लो समय बढ्न थालेको छ।

प्रतिक्रिया