केपी ओलीको कटाक्ष: बच्चाले आफूलाई राष्ट्रपति घोषणा गरे झैँ कतिपयलाई प्रधानमन्त्री बन्ने 'ख्यालख्याल' लागेछ

nepaltext.com

दमक (झापा) । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले केही व्यक्तिहरूले 'ख्यालख्याल' मै आफूलाई प्रधानमन्त्री घोषणा गरेको भन्दै कटाक्ष गर्नुभएको छ। सोमबार गृहजिल्ला झापाको दमकमा आयोजित एक सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरका प्रमुख बालेन शाहप्रति लक्षित गर्दै यस्तो टिप्पणी गर्नुभएको हो। बच्चाबच्चीले आफूलाई राष्ट्रपति वा प्रधानमन्त्री घोषणा गर्दैमा कोही त्यस्तो पदमा पुगिहाल्न नसक्ने भन्दै उहाँले राजनीतिलाई गम्भीरताका साथ लिन आग्रह गर्नुभयो। "बच्चाबच्चीलाई सोध्यो भने उसले आफूलाई प्रधानमन्त्री वा राष्ट्रपति पनि भन्न सक्छ, तर त्यो बच्चो भइहाल्ने त होइन नि! यस्तै केही मान्छेहरूलाई अहिले राजनीति ख्यालख्याल जस्तो लागेको छ," ओलीले भन्नुभयो।

अध्यक्ष ओलीले नेकपा एमाले कुनै लहड वा 'ख्यालख्याल' मा नभई 'सुखी नेपाली र समृद्ध नेपाल' को स्पष्ट गन्तव्य बोकेर जनतामा आएको दाबी गर्नुभयो। एमालेलाई विकासको वास्तविक हिमायती बताउँदै उहाँले आफ्नो नेतृत्वको सरकार ढल्नेबित्तिकै देशमा विकास निर्माणका कामहरू ठप्प हुने गरेको जिकिर गर्नुभयो। "मलाई सरकारबाट हटाएपछि देश ड्राइभरबिनाको गाडी जस्तो हुन्छ," उहाँले अगाडि भन्नुभयो, "म सरकारमा आउनेबित्तिकै फेरि देश कुद्छ, तर मैले सरकार छाडेपछि फेरि जहाँको त्यहीँ बस्छ। अहिलेसम्म यही नै हुने गरेको छ।"

सम्बोधनका क्रममा ओलीले एमाले बाहेकको नेतृत्वले देशलाई सही दिशा दिन नसक्ने दाबी गर्दै अन्य शक्तिहरूले केवल प्रचारबाजी मात्रै गरिरहेको आरोप लगाउनुभयो। उहाँले विकास र समृद्धिका लागि एमालेको विकल्प नरहेको कुरामा समेत जोड दिनुभयो।

प्रतिक्रिया