प्रचण्डको दाबी: ओलीको कार्यशैलीले एमालेमा विद्रोह सुरु भाको छ, हामी देशकै एक नम्बर पार्टी बन्दैछौँ

nepaltext.com

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' ले देशमा वाम आन्दोलनलाई सशक्त बनाउन सबै क्रान्तिकारी कम्युनिस्टहरू एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ। एमाले निकट मुक्ति समाज दोलखाका नेता तथा कार्यकर्ताहरूलाई आफ्नो पार्टीमा स्वागत गर्दै प्रचण्डले नेपालको कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्ने उद्देश्यले २०७४ सालमा गरिएको नेकपा एकता सही भए पनि नेतृत्वको गलत सोच र कार्यशैलीका कारण टिक्न नसकेको स्मरण गर्नुभयो।

प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीको नाम नलिई उनको कार्यशैलीका कारण एमालेभित्र विद्रोह गर्नेहरूको संख्या बढिरहेको दाबी गर्नुभयो। "एमाले भित्रकै साथीहरूले विद्रोह गर्दै फेरि एकताको झन्डा उठाउन सहयोग गर्नेछन् र हामी अन्ततः एकताबद्ध हुनेछौँ," उहाँले भन्नुभयो। जेनजी (Gen-Z) आन्दोलनपछि उत्पन्न भएको विषम परिस्थितिले फेरि वामपन्थी, देशभक्त र समाजवादी शक्तिहरूलाई एक ठाउँमा ल्याउन आवश्यक रहेको उहाँको तर्क थियो।

आगामी निर्वाचनको सन्दर्भमा बोल्दै प्रचण्डले देशभरिको चुनावी रिपोर्ट उत्साहजनक रहेको बताउनुभयो। पार्टीमा एमालेका पूर्वमन्त्री र सांसदहरू समेत प्रवेश गरिरहेकाले ध्रुवीकरणको नयाँ माहोल बनेको र निर्वाचनपछि आफ्नो पार्टी एक नम्बर वा मुख्य प्रतिस्पर्धी शक्तिको रूपमा उदाउने उहाँले जिकिर गर्नुभयो। "मैले देशभरिको रेकर्ड हेरिरहेको छु, हाम्रो प्रगति दिनदिनै बढ्दो छ र आउने सरकारमा हाम्रो पार्टीको भूमिका सबैभन्दा महत्त्वपूर्ण हुनेछ," प्रचण्डले थप्नुभयो।

प्रतिक्रिया