सर्लाही । आगामी निर्वाचनका लागि सर्लाही क्षेत्र नम्बर ३ को चुनावी समीकरणमा महत्वपूर्ण फेरबदल आएको छ। राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी (रामुपा) नेपालबाट यस क्षेत्रमा उम्मेदवारी दिएका महेशराज दाहालले आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गर्नुभएको छ। मंगलबार बागमतीमा आयोजित एक विशेष कार्यक्रमका बीच दाहालले आफू चुनावी प्रतिस्पर्धाबाट बाहिरिएको जानकारी दिँदै अब नेपाली कांग्रेसका उम्मेदवार विनोदकुमार खनाललाई समर्थन गर्ने स्पष्ट पार्नुभएको हो।
जाँतो चुनावचिन्ह लिएर चुनावी मैदानमा होमिएको 'रामुपा' का उम्मेदवार दाहालले आफ्नो टिमले अब पूर्ण रूपमा कांग्रेसलाई सघाउने प्रतिबद्धता जनाउनुभएको छ। कार्यक्रममा बोल्दै कांग्रेस उम्मेदवार विनोदकुमार खनालले दाहालको यस कदम र सदासयताप्रति हार्दिक आभार प्रकट गर्नुभयो। दाहालको समर्थनले यस क्षेत्रमा कांग्रेसको पक्षमा थप उत्साह थपिएको र जितको सम्भावना बलियो बनेको विश्लेषण गरिएको छ।
सर्लाही क्षेत्र नम्बर ३ मा यसपटक कडा प्रतिस्पर्धा देखिएको छ। यहाँ नेपाली कांग्रेस, नेकपा (एमाले), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नेकपा (माओवादी केन्द्र) बीच मुख्य भिडन्त छ। एमालेबाट हरिप्रसाद उप्रेती र रास्वपाबाट नरेन्द्र साह कलवार चुनावी मैदानमा हुनुहुन्छ भने नेकपाले 'हेभिवेट' नेता नारायणकाजी श्रेष्ठलाई उम्मेदवार बनाएको छ। यस्तो बहुपक्षीय प्रतिस्पर्धाका बीच दाहालको समर्थन खनालका लागि निर्णायक हुनसक्ने अनुमान गरिएको छ।
पछिल्लो समय यस क्षेत्रमा कांग्रेस उम्मेदवार विनोदकुमार खनालको पक्षमा माहोल बन्दै गएको दाबी गरिएको छ। जुझारु र विकासप्रेमी नेताको पहिचान बनाएका खनाल स्थानीय स्तरमा लोकप्रिय मानिनुहुन्छ। सुरुदेखि नै नेपाली कांग्रेसको विशेष महाधिवेशनको पक्षमा उभिएका उहाँलाई अन्य राजनीतिक शक्तिहरूको पनि साथ मिल्न थालेपछि सर्लाही–३ को चुनावी नतिजा थप रोचक हुने देखिएको छ।