विशेष महाधिवेशनपछि सानेपा जाने तयारीमा सभापति गगन थापा

nepaltext.com

काठमाडौँ । विशेष महाधिवेशनमार्फत नेपाली कांग्रेसको सभापति चयन भएका गगन थापाले पार्टी केन्द्रीय कार्यालय सानेपामा औपचारिक रूपमा जाने विषयमा आज छलफल गर्ने तयारी गरेका छन् । गत पुस २७ देखि ३० गतेसम्म काठमाडौँको भृकुटीमण्डपमा सम्पन्न विशेष महाधिवेशनबाट थापा सभापति निर्वाचित भए पनि निवर्तमान सभापति शेरबहादुर देउवा समूह र तत्कालीन डा. शेखर कोइराला नेतृत्वको समूहले महाधिवेशनलाई अस्वीकार गर्दै निर्वाचन आयोग र सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि उनी पार्टी कार्यालय गएका थिएनन् । तर निर्वाचन आयोगले थापालाई आधिकारिकता दिइसकेको र सर्वोच्च अदालतले देउवा समूहको रिटमा अन्तरिम आदेश नदिएपछि अब उनले पार्टीको केन्द्रीय कार्यालयमा जानेबारे औपचारिक निर्णयको तयारी थालेका हुन् । नेपाली कांग्रेसका प्रवक्ता देवराज चालिसेले जेनजी आन्दोलनका क्रममा पार्टी कार्यालयमा आगलागी भएर क्षति पुगेकाले मर्मतसम्भार भइरहेकाले तत्काल सानेपामा नजाने निर्णय भएको स्मरण गराउँदै अब भने समय आएको बताए । ‘पार्टी कार्यालय मर्मतको क्रममा भएकाले हतार गरेका थिएनौँ, तर अब जानैपर्छ,’ उनले रातोपाटीसँग भने, ‘आज सभापतिज्यूसहित शीर्ष नेताहरूसँग यसबारे गम्भीर छलफल हुँदैछ ।’

प्रतिक्रिया