विशेष महाधिवेशनले कांग्रेसलाई एकताबद्ध र रूपान्तरित बनाउँछ: प्रदीप पौडेल

nepaltext.com

२९ पुस, काठमाडौंमा नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले विशेष महाधिवेशनले पार्टीलाई स्पष्ट परिवर्तनकारी नीति र नेतृत्वसहित अझ मजबुत एकतामा बाँध्ने विश्वास व्यक्त गरेका छन् । सामाजिक सञ्जाल एक्समार्फत् आफ्नो धारणा सार्वजनिक गर्दै उनले वाध्यात्मक परिस्थितिबाट जन्मिएको विशेष महाधिवेशनले नेपाली कांग्रेसलाई रूपान्तरण, एकता र सुदृढताका नयाँ चरणतर्फ लैजाने उल्लेख गरेका हुन् । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा आयोजना भएको विशेष महाधिवेशनलाई संस्थापन पक्षले अवैधानिक ठहर गर्दै आएको छ भने विशेष पक्षधरहरूले भने पार्टीको विधानअनुसार नै प्रक्रिया अघि बढेको दाबी गरिरहेका छन् । दुवै धारबीच अडान कायमै रहेपछि सहमतिको मध्यमार्गी बाटो खोज्न अहिले बालुवाटारमा संवाद चलिरहेको छ । वार्तामा विशेष महाधिवेशन पक्षबाट प्रदीप पौडेलसहित गुरुराज घिमिरे, मधु आचार्य र देवराज चालिसे सहभागी छन् भने सभापति शेरबहादुर देउवा पक्षबाट रमेश लेखक र शेखर कोइराला पक्षबाट जीवन परियार तथा मिनेन्द्र रिजाल सहभागी छन् । यही वार्ता चलिरहेकै बेला पौडेलले एक्समा लेखेका छन्, ‘वाध्यात्मक परिस्थितिले सिर्जना गरेको विशेष महाधिवेशनले स्पष्ट परिवर्तनकारी नीति र नेतृत्व सहित नेपाली कांग्रेसलाई अझ एकताबद्ध बनाउनेछ । हामी एकताबद्ध, परिवर्तित र सबल नेपाली कांग्रेसको पक्षमा छौं ।’

प्रतिक्रिया