झापा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले पूर्वसभामुख देवराज घिमिरेको कार्यकाललाई लिएर कडा टिप्पणी गर्नुभएको छ। झापा क्षेत्र नम्बर २ मा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले घिमिरेले सभामुख पदमा रहँदा निष्पक्ष भूमिका निर्वाह गर्नुको सट्टा 'बा' को आदेश मानेर जनताको आवाज उठाउने सांसदहरूको माइक काटेको आरोप लगाउनुभयो। नेपाली जनता भिजिट भिसाका नाममा एयरपोर्टमा ठगिइरहेको विषयमा छानबिन गर्न माग गर्दा रास्वपाका २१ जना सांसदलाई अपमानजनक व्यवहार गरिएको उहाँको दाबी छ।
लामिछानेले घिमिरेको उम्मेदवारीमाथि प्रश्न उठाउँदै भन्नुभयो, "मलाई थाहा छैन, पूर्वसभामुख कुन मुख बोकेर भोट माग्दै हुनुहुन्छ। हामीले जनताको पक्षमा बोल्दा, ठगी गर्नेलाई कारबाही गर भन्दा उहाँले माइक काटिदिनुभयो।" उहाँले यो कुनै पार्टीगत इबी नभई नेपाली जनताको आवाजलाई घाँटी न्याँकेर दबाउने काम भएको जिकिर गर्नुभयो। संसद् नियमावलीले स्पष्ट रूपमा थुनामा नरहेको सांसदको पद निलम्बन नहुने व्यवस्था गरे पनि घिमिरेले राजनीतिक दबाबमा परेर आफूलाई दुई घण्टाभित्रै संसद्बाट गलहत्याएको लामिछानेले बताउनुभयो।
सम्बोधनका क्रममा लामिछानेले विगतमा देवराज घिमिरेलाई सभामुख निर्वाचित गर्न आफ्नै हस्ताक्षर प्रयोग भएकोमा पछुतो समेत व्यक्त गर्नुभयो। "उहाँलाई सभामुख बनाउँदा मैले उहाँको पक्षमा केही शब्दहरू बोलेको थिएँ, त्यसका लागि म यहीँ उभिएर आलोचित हुन चाहन्छु," उहाँले भन्नुभयो। सदनमा आफूहरूप्रति गरिएको अन्यायको जवाफ जनताले मतमार्फत दिनुपर्ने भन्दै लामिछानेले पूर्वउपसभामुख इन्दिरा राना मगरलाई जिताउन आह्वान समेत गर्नुभयो।