काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीको हेडक्वार्टर निश्चित बिचौलियाहरूको प्रभावमा रहेको गम्भीर आरोप लगाएका छन्।
सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद सुनारले प्रहरीभित्रको खरिद प्रक्रिया तथा बिचौलियाको चलखेलप्रति आपत्ति जनाएका हुन्। उनले प्रहरीका स्रोत–साधन खरिदमा भएको भनिएको अनियमिततासम्बन्धी कागजात १५ दिनभित्र उपलब्ध गराउन यसअघि नै माग गरिएको स्मरण गराए।
तर, उक्त कागजात प्राप्त नहुँदै फेरि करोडौँ रुपैयाँको टेन्डर आह्वान गरिएको भन्दै उनले असन्तुष्टि व्यक्त गरे। प्रहरी महानिरीक्षक (आईजीपी) सहित प्रहरी नेतृत्वमाथि समेत छानबिन हुनुपर्ने उनको भनाइ छ।
सांसद सुनारले भने, “अस्ति मैले उठाएको प्रश्नमा म पूर्ण रूपमा अडिग छु, मजबुत छु। निश्चित बिचौलियाहरूले प्रहरीको हेडक्वार्टर कब्जा गरेका छन्, यसको निष्पक्ष छानबिन हुनुपर्छ।”
आफ्नो अभिव्यक्तिप्रति आपत्ति भए कानुनी प्रक्रियामा जानसमेत उनले चुनौती दिएका छन्। उनले आफूले लगाएको आरोपका कारण मानमर्दन भएको ठाने अदालत जान आग्रह गर्दै आफू कानुनी रूपमा जवाफ दिन तयार रहेको बताए।
उनले सार्वभौम संसदीय समितिमा आएर व्यक्तिगत आरोप–प्रत्यारोपमा उत्रिन नहुने धारणा पनि राखे।
सांसद सुनारको आक्रामक प्रस्तुतिसँगै प्रहरीको खरिद प्रक्रिया, टेन्डर तथा प्रहरी नेतृत्वको भूमिकामाथिको बहस फेरि चर्किएको छ।