सार्वजनिक चौतारा अतिक्रमणको आरोप, सरकारी निकायमा उजुरी

nepaltext

खोटाङ । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारस्थित हस्पिटल चोकमा रहेको करिब दुई सय वर्ष पुरानो ऐतिहासिक सार्वजनिक चौतारा गायब भएको पाँच वर्ष पुगेको छ । स्थानीयको धर्म, संस्कार र सामाजिक परम्परासँग जोडिएको उक्त चौतारा रहेको स्थान सम्याएर निजी घरको आँगन बनाइएको स्थानीयले आरोप लगाएका छन् ।

चौतारा हटाइए पनि त्यससँगै रहेको ‘मूलधारा’ नामले चिनिने पुरानो ढुङ्गे धारा भने अझै अस्तित्वमा छ । परापूर्वकालदेखि स्थानीयले खानेपानी, नुहाउने तथा विभिन्न धार्मिक एवं सामाजिक संस्कारमा प्रयोग गर्दै आएको उक्त धारालाई दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा संरक्षण गरिएको छ ।

ढुङ्गे धारासँगै रहेको चौतारा भएको स्थानमा दुई कित्ता सार्वजनिक जग्गा रहेको अभिलेखबाट देखिन्छ । भूमि प्रशासन कार्यालय (तत्कालीन जिल्ला मालपोत कार्यालय) खोटाङमा कित्ता नम्बर २९६ को सात आना तीन दाम दुई पैसा क्षेत्रफलको जग्गा ‘सार्वजनिक चौतारा’ र कित्ता नम्बर १११२ को नौ आना दुई पैसा क्षेत्रफलको जग्गा ‘सार्वजनिक धारा’का नाममा दर्ता रहेको बताइएको छ ।

 

उक्त सार्वजनिक धारा र चौतारा साविक दिक्तेल गाउँ विकास समिति–२ र ३ को सीमाना तथा हाल दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–१, दिक्तेलमा पर्छ ।

दिक्तेल बजार सामाजिक गुठीका अध्यक्ष विष्णुकुमार श्रेष्ठ ‘स्याण्डे’का अनुसार सार्वजनिक चौतारानजिकै निजी जग्गा रहेका नारायणकाजी श्रेष्ठले विसं २०७८ मा पक्की घर निर्माण गरेका थिए । त्यसक्रममा चौताराका नाममा रहेको जग्गासमेत सम्याएर घरको आँगन बनाइएको उनको आरोप छ ।

‘हाम्रो संस्कारसँग जोडिएको सार्वजनिक चौतारा अतिक्रमण भएको छ । यसमा अघिल्लो स्थानीय सरकारका जनप्रतिनिधि तथा प्राविधिक कर्मचारीको मिलेमतो देखिन्छ,’ उनले भने, ‘वर्षौँदेखि प्रयोग गर्दै आएको जग्गामा संस्कार गर्न जाँदा घरधनीबाट दुव्र्यवहार हुने गरेको छ । स्थानीयस्तरबाट समस्या समाधान हुने अवस्था नदेखिएपछि अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा जाने तयारी गरेका छौँ ।’

स्थानीयले सार्वजनिक चौताराको जग्गा अतिक्रमण गरी निजी प्रयोजनमा प्रयोग गरिएको भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा विसं २०८३ असार २९ गते गुनासो र साउन ७ गते उजुरी दर्ता गराएको जनाइएको छ । उजुरी परेपछि विवादित जग्गाको अवस्थाबारे अध्ययन गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जिल्ला प्रशासन कार्यालय खोटाङलाई निर्देशनसमेत दिएको बताइएको छ ।

तर, सार्वजनिक जग्गा अतिक्रमण गरेको आरोप लागेका नारायणकाजी श्रेष्ठले आफूले कुनै सार्वजनिक जग्गा नमिचेको दाबी गरेका छन् । उनका अनुसार उनले आफ्नो पाँच आना तीन पैसा एक दाम क्षेत्रफलको निजी जग्गाभित्र घर निर्माण गरेका हुन् ।

‘मैले आफ्नो जग्गामै घर निर्माण गरेको हुँ । सार्वजनिक चौतारा रहेको भनिएको स्थानमा अहिले दिक्तेल–लफ्याङ सडक छ,’ उनले भने, ‘आफ्नो जग्गामा घर बनाएर बस्दा पनि साथीहरूले दुःख दिइरहेका छन् । म पनि सामाजिक गुठीको सदस्य हुँ । यही संस्थाको नामबाट पटक–पटक दुःख दिएपछि गत साउन २१ गते विपक्षीविरुद्ध जिल्ला अदालत खोटाङमा मुद्दा दर्ता गरेको छु ।’

स्थानीयका अनुसार दिक्तेल बजारका नेवार, बस्नेत, खड्का र दमाई समुदायको धर्म तथा संस्कारसँग जोडिएको उक्त सार्वजनिक चौतारा पाँच वर्षअघि हटाइएको हो । घर निर्माणका क्रममा तत्कालीन स्थानीय जनप्रतिनिधिको मिलेमतोमा चौतारा र वरपीपलको रुखसमेत हटाइएको स्थानीयको आरोप छ ।

चौतारा रहेको स्थानमा स्थानीयले लामो समयदेखि मृत्यु संस्कार, काजकिरिया, पितृकार्य तथा अन्य धार्मिक एवं सामाजिक संस्कार गर्दै आएका थिए । नेवार समुदायले हरेक वर्ष आयोजना गर्ने जात्रा पनि सोही स्थानमा सेलाउने परम्परा रहेको स्थानीय बताउँछन् ।

चौतारा भत्काएपछि सोही स्थानमा कटेरो बनाएर नेवार समुदायले परम्परागत मृत्यु संस्कार गर्न खोज्दा घरधनीबाट गालीगलौज तथा दुर्व्यवहार भएको दिक्तेल बजार सामाजिक गुठीका सचिव सरोज सैँजूले बताए । त्यतिबेला भएको घटनाको भिडियो सामाजिक सञ्जालमा राखिए पनि अहिले हटाइएको उनको भनाइ छ ।

आफ्नो संस्कारसँग जोडिएको सार्वजनिक चौतारा प्रयोग गर्न नपाएको भन्दै स्थानीयले दुई वर्षअघि दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाको न्यायिक समितिमा निवेदनसमेत दिएका थिए । दुवै पक्षबीच छलफलपछि विसं २०८१ भदौ ७ गते न्यायिक समितिले निर्णय गरेको थियो ।

स्थानीयले उक्त स्थानमा नियमित रूपमा संस्कारअनुसार खाना पकाएर खाने तथा नेवार समुदायले जात्रा सेलाउने गरेको पाइएपछि सार्वजनिक जग्गा दिक्तेल बजार सामाजिक गुठीको संरक्षणमा राख्ने निर्णय गरिएको थियो । साथै, परम्परागत संस्कार सञ्चालन गर्न स्थानीयलाई अनुमति दिने निर्णयसमेत गरिएको थियो ।

नगरपालिकाका उपप्रमुख एवं न्यायिक समितिका संयोजक विशन राईका अनुसार गुठीको संरक्षणमा रहने गरी पाटी तथा चौतारा निर्माण गर्ने र स्थानीय समुदायले परम्परागत रूपमा उक्त स्थानको भोगाधिकार गर्न पाउने निर्णय लिखित रूपमा गरिएको हो ।

न्यायिक समितिको निर्णयपछि दिक्तेल बजारका नेवार समुदायले दुवै कित्ताको जग्गामा काजकिरियाअन्तर्गत दशौँ, एघारौँ र बाह्रौँ दिनका संस्कार गर्दै आएको बताइएको छ ।

प्रतिक्रिया