काठमाडौं । नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले आगामी फागुन २१ गतेसम्म पार्टीका आन्तरिक विषयमा सार्वजनिक बहस नगर्ने स्पष्ट पारेका छन् । आफूले टिकट नपाए पनि विचलित नभएको उल्लेख गर्दै उनले आफ्नो ध्यान पार्टी र सूर्य चिह्नकै जितमा केन्द्रित रहेको बताए । ‘फागुन २१ सम्म पार्टीका आन्तरिक विषयमा सार्वजनिक बहस गर्न चाहन्न । मेरो मिसन सूर्य चिह्न र नेकपा एमाले हो । नो इफ, नो बट, म विचलित र निराश छैन,’ भट्टराईले भनेका छन् ।
यद्यपि, पार्टी अध्यक्ष केपी शर्मा ओलीले आफू, सुरेन्द्र पाण्डे, बिन्दा पाण्डे, गोकुल बास्कोटालगायत नेताहरूबारे गरेका टिप्पणीप्रति उनी चिन्तित र दुःखी भएको उनले खुलाएका छन् । ‘अध्यक्षको कुराबाट चिन्तित छु, दुःखी छु । कसैले पनि जितको ग्यारेन्टीसहित लिखित कागज गरेर टिकट लगेको होला भन्ने मलाई विश्वास छैन,’ भट्टराईले बताएका छन् । उनले असन्तुष्टि जनाए पनि पार्टीको हित र चुनावी सफलतालाई नै पहिलो प्राथमिकता बनाउने सन्देश दिएका छन् ।