सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर मतदातामा त्रास फैलाएको एमालेको आरोप

nepaltext.com

काठमाडौँ, १२ फागुन । नेकपा (एमाले) ले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनको ९ दिनअघि देशका विभिन्न भागमा सरकारले निषेधाज्ञा र कर्फ्यु लगाएर मतदातामा डर र त्रास फैलाएको आरोप लगाएको छ। मंगलबार पत्रकार सम्मेलन आयोजना गर्दै एमालेका प्रचार विभाग प्रमुख एवं निर्वाचन प्रचारप्रसार समितिका संयोजक मीनबहादुर शाहीले सर्वसाधारणको शान्ति सुरक्षाका नाममा जारी गरिएका यस्ता आदेशहरू सुरक्षा व्यवस्थापनको कमजोरी भएको बताउनुभयो। सरकारका यी कदमले मतदाताको मनमा भय सिर्जना गरी स्वतन्त्र मतदानको अधिकार कुण्ठित गरिरहेको एमालेको ठहर छ।

प्रचार विभाग प्रमुख शाहीले विशेष गरी मधेस–तराईका विभिन्न जिल्लाहरूमा लगाइएको कर्फ्युले आम मतदातालाई मतदान केन्द्रसम्म पुग्न अवरोध पुर्‍याउने काम गरेको भन्दै गम्भीर चिन्ता व्यक्त गर्नुभयो। सरकारको यस्तो रवैयाले नागरिकको अभिव्यक्ति स्वतन्त्रतामा अंकुश लगाउने मात्र नभई लोकतान्त्रिक मूल्य–मान्यतामाथि नै प्रश्न उठाएको उहाँले उल्लेख गर्नुभयो। साथै, समाजमा विभिन्न बहानामा निर्वाचन सार्ने भ्रामक हल्लाहरू चलेकोप्रति ध्यानाकर्षण गराउँदै एमालेले घोषित समयमै निर्वाचन हुनुपर्ने आफ्नो अडान पुनः दोहोर्‍याएको छ।

नेकपा (एमाले) ले आफूलाई मुलुकको स्थायित्व, समृद्धि र सुशासनको विश्वसनीय आधारका रूपमा स्थापित गरिसकेको दाबी समेत गरेको छ। सोही अवसरमा नेता शाहीले एमालेले यसपटक ‘भोट फर चेन्ज’ (परिवर्तनका लागि मत) नभई ‘भोट फर नेशन’ (राष्ट्रका लागि मत) को नयाँ नारा अघि सारेको जानकारी दिनुभयो। निर्वाचनको समय नजिकिँदै गर्दा सरकारले सुरक्षाका नाममा गर्ने गतिविधिहरूले स्वच्छ र निष्पक्ष निर्वाचनको वातावरण बिथोल्न नहुनेमा एमालेले जोड दिएको छ।

प्रतिक्रिया