काठमाडौं । नेकपा एमालेका उपमहासचिव रघुवीर महासेठले राजनीतिक दलसँग आबद्ध भएर अन्तरिम सरकारमा रहेका मन्त्रीहरूलाई प्रधानमन्त्रीले तत्काल बर्खास्त गर्नुपर्ने बताएका छन्। आइतबार जनकपुरधाममा सञ्चारकर्मीसँग कुरा गर्दै महासेठले चुनावी सरकारमा सहभागी भएका मन्त्रीहरू आफ्नो नैतिक दायित्वविपरीत राजनीतिक गतिविधिमा सक्रिय रहेको आरोप लगाए। उनका अनुसार यस्ता मन्त्रीहरूले तत्काल राजीनामा दिनुपर्छ र यदि राजीनामा नआए प्रधानमन्त्रीले ढिलाइ नगरी बर्खास्त गर्नुपर्छ। उनले पार्टी गठन गर्ने र प्रधानमन्त्री बन्ने सपना देखेर सरकारमा बस्नेहरूले सरकार छाडेर खुला रूपमा चुनावी मैदानमा आउनुपर्ने धारणा राखे।
महासेठले सरकारले फागुन २१ गते प्रतिनिधिसभा निर्वाचन गर्ने वातावरण बनाउन नसकेको दाबी गर्दै सरकार आफैँ निर्वाचन बिथोल्ने प्रक्रियातर्फ अघि बढिरहेको आरोपसमेत लगाए। साथै, जेन–जी आन्दोलनका क्रममा लुटिएका हजारौँ हतियार अझै फिर्ता हुन नसकेको र भागेका कैदीहरू पक्राउ नपरेको अवस्थालाई उल्लेख गर्दै उनले यस्तो परिस्थितिमा भयरहित र निष्पक्ष निर्वाचन सम्भव छ भन्नेमा गम्भीर शंका रहेको बताए।