फागुन २१ को चुनावका लागि मतपत्र छपाइ तीव्र, समानुपातिकको काम सम्पन्न

nepaltext.com

१३ माघ, काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतपत्र छपाइको काम तीव्र गतिमा अघि बढिरहेको छ । निर्वाचन आयोगका अनुसार समानुपातिकतर्फको मतपत्र छपाइको काम पूरा भइसकेको छ भने प्रत्यक्षतर्फको मतपत्र छपाइ प्रक्रिया सुरु भइसकेको छ । जनक शिक्षा सामग्री केन्द्रको छापाखानामा नेपाली सेनाको कडा सुरक्षा घेराभित्र छपाइ भइरहेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिएका छन् । हालसम्म समानुपातिकतर्फ २ करोड ८ लाख ३० हजार मतपत्र छापिसकिएको र प्रत्यक्षतर्फको मतपत्र करिब १५ दिनभित्र छपाइ सम्पन्न गर्ने लक्ष्य राखिएको उनले बताए । आयोगले फागुन ५ गतेभित्र सबै मतपत्र सम्बन्धित निर्वाचन क्षेत्रमा पुर्‍याइसक्ने योजना बनाएको छ, जसअनुसार मतपत्र पुगेपछि मतदान अधिकृतले कानुनअनुसार मतदानको दिन मात्र सिल खोलेर प्रयोग गर्न पाउने व्यवस्था रहनेछ । मतपत्र ढुवानीदेखि भण्डारणसम्म उच्च सुरक्षा सतर्कता अपनाइने आयोगले स्पष्ट पारेको छ । प्रत्यक्षतर्फ उम्मेदवारी दिएका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशित भइसकेको छ भने समानुपातिकतर्फ बन्दसूचीमा रहेका उम्मेदवारहरूको अन्तिम नामावली माघ २० गते सार्वजनिक गर्ने कार्यक्रम तय गरिएको छ । आयोगले सबै राजनीतिक दल र उम्मेदवारले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्ने विश्वास व्यक्त गर्दै निष्पक्ष, सुरक्षित र विश्वसनीय निर्वाचन गराउने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।

प्रतिक्रिया