‘पोखरा घर’ सञ्चालनमा

nepaltext

कास्की - पोखराको चिनारीका रुपमा निर्माण गरिएको ‘पोखरा घर’ सञ्चालनमा आएको छ । पोखरा महानगरपालिकाको करीब साढे ५ करोड लगानीमा पोखरा पृथ्वीचोकमा ‘जेड’ आकारमा निर्माण गरिएको सो घर शुक्रबारदेखि सञ्चालनमा आएको हो । पुरानो ट्राफिक कार्यालय रहेको स्थानमा निर्माण गरिएको घरको शुक्रबार एक औपचारिक कार्यक्रमका बीच पोखरा महानगरपालिकाका प्रमुख (मेयर) धनराज आचार्यले उद्घाटन गरे ।

२ सय ८५ वर्गमिटरमा निर्माण गरिएको यो भवन पाँच तलाको छ । यो निर्माणका लागि ७ करोड ४६ लाख रुपैयाँ लागत अनुमान गरिए पनि कोजुई आरुसी आरुसु एबी–एसी जेभी निर्माण कम्पनीले ५ करोड ४२ लाख ६६ हजार रुपैयाँमा ठेक्का सम्झौता गरेर निर्माण सम्पन्न गरेको हो ।

शुक्रबारदेखि सञ्चालनमा आएको ‘पोखरा घर’लाई पोखरा महानगरपालिकाले बहुउद्देश्यीय भवनको रुपमा अगाडि बढाउने भएको छ । भवनको भूमिगत तला (अन्डरग्राउण्ड)मा पार्किङ राखिएको छ । कुल ३१५ मिटरमा फैलिएको पार्किङ क्षेत्रमा चारपाङ्ग्रे र दुईपाङ्ग्रे सवारी साधन पार्किङ गर्न मिल्छ ।

 

भवनको भुईं तलामा कोसेली घर र एकीकृत सूचना केन्द्र, स्नानघर, सार्वजनिक शौचालयलगायत छ । कोसेली घरमा पोखरेलीले निर्माण गरेका स्थानिय उत्पादनका सामग्रीहरु बिक्री तथा प्रदर्शनीका लागि राखिनेछ, जुन कोसेलीका रुपमा पर्यटकले खरिद गर्न सक्ने जनाइएको छ । स्नानघरमा एकै पटकमा पाँचदेखि सात जनासम्मले स्नान गर्न सक्नेछन् भने शौचालयमा १० देखि १२ जनासम्मले शौचालय प्रयोग गर्न सक्नेछन् । यहि तलामा पृथ्वी राजमार्गको टिकट काउन्टरसमेत रहेको छ । एकीकृत सूचना केन्द्रबाट पोखराका पर्यटकीय केन्द्रहरुदेखि समग्र पोखराको सूचना लिन सकिने जनाइएको छ ।

दोस्रो तलामा सार्वजनिक पुस्तकालयसँगै बैठक कक्ष छ । यो तलामा महेन्द्रपुलस्थित पोखरा सार्वजनिक पुस्तकालय स्थानान्तरण गरिएको हो । सेती नदी किनारमा रहेको सो पुस्तकालय भवन भत्काएपछि अलपत्र अवस्थामा थियो ।

भवनको तेस्रो तलामा पोखरा प्रज्ञा प्रतिष्ठानको कार्यालय रहेको छ । कार्यालय भवन नहुँदा पोखरा सभागृहलाई अस्थायी कार्यालय बनाउँदै आएको प्रतिष्ठानले दोस्रो कार्यकालमा आएर स्थायी कार्यालय पाएको हो ।

चौथो तलामा आर्ट ग्यालरी र बैठक कक्ष रहेको छ । जहाँ प्रतिष्ठानको नियमित गतिविधि, आर्ट ग्यालरी कक्षमा प्रदर्शनीलगायत हुने जनाइएको छ । यहि तलामा पोखरा प्रज्ञा प्रतिष्ठानकी कुलपती सरस्वती प्रतीक्षाको कार्यकक्ष पनि राखिएको छ ।

भवनको सबैभन्दा माथिल्लो पाचौं तलाको पूर्व र उत्तरतर्फ दुई वटा घण्टाघर राखिएका छन् । सो तलाको बाँकी भाग भने खुला छ ।

उद्घाटन कार्यक्रममा बोल्दै पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले ‘पोखरा घर’ निर्माण सम्पन्न भएर सञ्चालनमा आएसँगै पोखराको एउटा ड्रिम प्रोजेक्ट सम्पन्न भएको बताए । निर्वाचनका बेला आफूले पोखरामा एउटा सुविधा सम्पन्न सूचना केन्द्र, पुस्तकालय, आर्ट ग्यालरी, कोसेली घर, प्रज्ञा सम्वाद स्थल, स्नान तथा रिफ्रेसमेन्ट स्टेसनसहितको घण्टाघर आवश्यक छ भनेर बोलेको बताउँदै उनले भने,‘आज ती सबै सुविधा एउटै छानामुनि समेटिएको, विभिन्न गन्तव्यमा पुग्न आवश्यक यातायातका साधनहरुको टिकटघरसमेत रहेको बहुउद्धेश्यीय ‘पोखरा घर’ निर्माण सम्पन्न भई सञ्चालनमा आउको छ । यो मेरा लागि मात्र होईन समग्र पोखराका लागि खुशीको क्षण हो ।’ उनले ‘पोखरा घर’ले पोखराको आफ्नै कथा बोल्ने दाबीसमेत गरे ।

पोखरा–९ का वडाध्यक्ष दीपेन्द्र मर्सानीले ‘पोखरा घर’ निर्माणसँगै पृथ्वीचोकमा लामो समयदेखि अभावका रुपमा देखिएको सार्वजनिक शौचालय तथा यात्रुको टिकट काट्ने असुविधाको पनि सम्बोधन भएको बताए । ‘स्थानीयवासीसँगै यात्रु र पर्यटक पनि लाभान्वित हुन्छन्’–उनले भने ।

उद्घाटन कार्यक्रममा जग्गा दाताहरु गण्डकी पेट्रोलपम्प पोखरा–१०, स्व.हरिगोपाल रञ्जितका परिवार तथा स्व.गोपालप्रसाद तझ्याका परिवारलाई सम्मान गरिएको थियो ।

प्रतिक्रिया