काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको वैधानिकतामाथि चर्को बहस चलिरहेका बेला सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता डा. शेखर कोइरालाबीच महाराजगन्जस्थित देउवाको निवासमा महत्वपूर्ण भेटवार्ता भएको छ । महामन्त्रीद्वयले आह्वान गरेको विशेष महाधिवेशनका लागि बहुमत पुगेको दाबी सार्वजनिक भएसँगै देउवाले आन्तरिक परामर्शलाई तीव्र बनाउँदै आफू निकट नेताहरू मात्र होइन, कोइराला पक्षधर नेताहरूसँग पनि संवाद सुरु गरेका हुन् । भेटका लागि डा. कोइरालासँग मिनेन्द्र रिजाल, जीवन परियार, बद्री पाण्डेलगायत नेताहरू देउवा निवास पुगेका थिए भने छलफलमा दुवै पक्षका पदाधिकारी तथा केन्द्रीय सदस्यहरूको पनि सहभागिता रहेको छ । यसअघि आज बिहान देउवाकै निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले विशेष महाधिवेशन विधानविपरीत र अवैध भएको निष्कर्ष निकालिसकेको थियो । यही पृष्ठभूमिमा भएको देउवा–कोइराला भेटलाई कांग्रेसभित्र गहिरिँदै गएको शक्ति संघर्ष, कानुनी वैधता र राजनीतिक निकासको खोजसँग जोडेर हेरिएको छ, जहाँ एकातिर विशेष महाधिवेशनको विरोध सशक्त हुँदै गएको छ भने अर्कोतिर नेतृत्व तहमा संवादमार्फत समाधान खोज्ने प्रयास सुरु भएको संकेत देखिएको छ ।