काठमाडौं । नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरणको काम पुस ९ गते मध्याह्न १२ बजेसम्म मात्रै गर्ने निर्णय गरेको छ। महामन्त्री गगन थापा संयोजक रहेको क्रियाशील सदस्यता व्यवस्थापन समितिको बैठकले उक्त समयपछि सदस्यता वितरण प्रणाली ‘सिष्टम लक’ गर्ने निर्णय गरेको हो।
समितिका केन्द्रीय सदस्य प्रकाश रसाइली ‘स्नेही’ का अनुसार नवीकरणसम्बन्धी सिष्टम पुस ९ गते मध्याह्न १२ बजे लक गरिनेछ। त्यसपछि अपराह्न ४ बजे बैठक बसेर विवरण छलफल तथा प्रमाणित गरी पार्टीलाई बुझाइनेछ। यस्तै, नयाँ क्रियाशील सदस्यता वितरणका लागि पुस १० गते सिष्टम लक गरिने निर्णय भएको उनले जानकारी दिए।
विदेशस्थित जनसम्पर्क समितिमा रहेका सदस्यहरूले नवीकरण वा नयाँ क्रियाशील सदस्यता नपाएको खण्डमा केन्द्रीय कार्यालयमा सम्पर्क गरी पार्टीको वेबसाइटमार्फत सदस्यता लिन सक्ने व्यवस्था मिलाइएको पनि उनले बताए।
यसपटक कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा नयाँ वितरण प्रक्रिया खुकुलो बनाएको छ। मातहत समितिबाट सदस्यता नपाएमा केन्द्रीय कार्यालयले सिधै सदस्यता दिन सक्ने व्यवस्था गरिएको छ।
कांग्रेसको १५औँ महाधिवेशन पुस २६ देखि २८ गतेसम्म काठमाडौंमा गर्ने कार्यतालिका छ। त्यसअघि पुस १६ गते देशैभर वडा अधिवेशन हुने तय गरिएको छ। यद्यपि, क्रियाशील सदस्यता नवीकरण, नयाँ वितरण तथा उजुरीमाथिको छानबिन समयमै नसकिएको भन्दै मातहत तहका अधिवेशन कार्यतालिका हेरफेर गर्ने विषयमा छलफल भए पनि ठोस निष्कर्ष निस्किएको छैन।
महामन्त्री गगन थापाले पुस २६ देखि २८ गतेभित्र महाधिवेशन हुन नसके विशेष महाधिवेशन गर्नुपर्ने बताएका छन्। असोज २९ गते ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले विशेष महाधिवेशनको माग गर्दै हस्ताक्षर बुझाएका थिए, जसअनुसार पुस २९ गतेभित्र विशेष महाधिवेशन गर्नुपर्ने व्यवस्था छ।
तर सभापति शेरबहादुर देउवा र कार्यवाहक पूर्णबहादुर खड्का विशेष महाधिवेशनको पक्षमा छैनन्। नियमित महाधिवेशनमै जोड दिएपछि मंसिर १५ गतेको केन्द्रीय समिति बैठकले १५औँ महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको थियो।