काठमाडौं । नेपाल शिक्षक महासंघले आफ्ना विभिन्न माग पूरा नभएको भन्दै आगामी भदौ महिनादेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ।
महासंघको राष्ट्रिय परिषद् बैठकले नयाँ शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने, शिक्षा नियमावलीको दशौँ संशोधनमा रहेका शिक्षकविरोधी प्रावधान सच्याउनुपर्ने तथा शिक्षक–कर्मचारीका विभिन्न समस्या समाधान गर्नुपर्ने मागसहित आन्दोलनमा जाने निर्णय गरेको हो।
महासंघका महासचिव तुलाबहादुर थापाले भदौदेखि आन्दोलन सुरु गर्ने निर्णय भइसकेको जानकारी दिँदै आन्दोलनका कार्यक्रम, स्वरूप र मिति आगामी विस्तारित कार्यालय बैठकले तय गर्ने बताए।
महासंघले नयाँ शिक्षा ऐन जारी गर्न ढिलाइ भएकोप्रति असन्तुष्टि जनाउँदै शिक्षा नियमावलीको दशौँ संशोधनका केही व्यवस्था शिक्षक हितविपरीत रहेको जनाएको छ।
यस्तै, शिक्षक सरुवा प्रणालीलाई व्यवस्थित बनाउने, विद्यालय कर्मचारी, प्रारम्भिक बालविकास (ईसीडी) शिक्षक तथा अस्थायी प्रकृतिका शिक्षकहरूको उचित व्यवस्थापन गर्न सरकारसँग माग गरिएको छ।
महासंघले आफ्ना माग सम्बोधन नभएसम्म आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिने चेतावनी पनि दिएको छ।