७ पुस, काठमाडौं । ललितपुरमा बोरामा प्याक गरेर शव फालिएको घटनाको अनुसन्धानका क्रममा अर्का एक युवकको पनि हत्या भएको खुलेको छ । हत्या हुनेमा भोजपुरका २१ वर्षीय पारुहाङ राई रहेका छन् । उनको शव आज भक्तपुर र ललितपुरको सीमाक्षेत्रमा पर्ने सूर्यविनायक नगरपालिका–७ स्थित जंगलमा फेला परेको हो । यसअघि पुस २ गते ललितपुरको महालक्ष्मी नगरपालिका–८ स्थित शेरफाँटमा रहेको एक इनारभित्र सिन्धुलीको गोलन्जोर गाउँपालिका–३ घर भएका केशवराज हायुको शव बोरामा प्याक गरिएको अवस्थामा भेटिएको थियो ।
उक्त घटनाको अनुसन्धानका क्रममा प्रहरीले सुरुमा देवराज ढुंगेललाई पक्राउ गरेको थियो । उनीसँग गरिएको सोधपुछका क्रममा जयराज अधिकारीको नाम खुलाएपछि प्रहरीले आज बिहान सिन्धुलीबाट जयराज अधिकारीलाई पनि पक्राउ गरेको हो । जयराजले पारुहाङ राईको पनि हत्या गरेको स्वीकार गरेपछि उनले भनेकै स्थानबाट प्रहरीले पारुहाङको शव फेला पारेको जनाएको छ ।
देवराज ढुंगेल र जयराज अधिकारीका अनुसार उनीहरूले गत मंसिर २४ गते केशवराज हायुको हत्या गरेका थिए भने त्यसको भोलिपल्ट अर्थात मंसिर २५ गते पारुहाङ राईको पनि हत्या गरेका थिए । अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले देवराज ढुंगेल र जयराज अधिकारीले दुवै हत्या गरेको स्वीकार गरेको जानकारी दिए । घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको पनि एसएसपी बस्नेतले बताएका छन् ।