नयाँ विशेषतासहित ५० रुपैयाँको नोट आजदेखि चलनचल्तीमा

nepaltext

काठमाडौं । नेपाल राष्ट्र बैंकले नयाँ डिजाइन तथा थप सुरक्षा विशेषतासहितको ५० रुपैयाँ दरको बैंक नोट आजदेखि चलनचल्तीमा ल्याउने भएको छ। साविककै आकार र रङ कायम राख्दै नयाँ डिजाइनमा तयार गरिएको नोट राष्ट्र बैंकले जारी गर्न लागेको हो।

राष्ट्र बैंकका अनुसार नयाँ ५० रुपैयाँको नोटमा ट २४, ०००००१ देखि ण ७०, ९९९९९९ सम्मका संकेत नम्बर भएका नोट जारी गरिनेछन्। नोटमा २०८३ साल असोज २ गतेदेखि चलनचल्तीमा ल्याउने उल्लेख गरिएको छ।

नोटको अगाडिको मध्य भागमा ‘श्री नेपाल राष्ट्र बैंक, नेपाल सरकारको जमानत प्राप्त यसको रुपैयाँ भुक्तानी माग भएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ ५० रुपैयाँ पचास तुरुन्त पाइने छ’ भन्ने प्रतिज्ञामूलक वाक्यांश राखिएको छ।

नोटको बायाँ भागमा सगरमाथा हिमालको चित्र तथा दायाँ भागमा लालीगुराँसको पानी छाप राखिएको छ। पानी छापको तल्लो भागमा ‘५०’ अंकित पानी छापसमेत राखिएको राष्ट्र बैंकले जनाएको छ। नयाँ नोटमा गभर्नर प्रा.डा. विश्वनाथ पौडेलको दस्तखत रहेको छ।

नोटमा १.२ मिलिमिटर चौडाइको कागजमा बुनिएको सुरक्षा धागो पनि राखिएको छ। प्रकाशतर्फबाट हेर्दा उक्त धागो पूर्ण रूपमा देखिने र त्यसमा ‘NRB’ लेखिएको हुन्छ।

नोटको पछाडिको भागमा हिउँ चितुवाको चित्र राखिएको छ। चित्रको माथि  तल्लो भागमा  तथा सिरिज नम्बर ‘2025 A.D.’ उल्लेख गरिएको छ।

यसअघि राष्ट्र बैंकले २०७७ असार २२ गतेदेखि सिरिज २०१९ को ५० रुपैयाँको बैंक नोट चलनचल्तीमा ल्याएको थियो। सो सिरिजमा उल्लेखित संकेत नम्बरमध्ये ज ८९, ०००००१ देखि ट २३, ९००००० सम्मका नोट मात्र चलनचल्तीमा ल्याइएको राष्ट्र बैंकले जनाएको छ।

नयाँ नोटमा थप सुरक्षा विशेषता समावेश गर्नुका साथै सगरमाथा र हिउँ चितुवाजस्ता नेपालको प्राकृतिक पहिचान झल्काउने चित्रलाई निरन्तरता दिइएको छ।

प्रतिक्रिया