काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वर्तमान अवस्थामा देशलाई सम्हाल्न सक्ने शक्ति कांग्रेस मात्रै भएको बताएका छन्। पोखरामा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले देश जसले पनि जलाउन सक्ने अवस्था रहेको उल्लेख गर्दै अहिले नेपाललाई सम्हाल्न सक्ने जिम्मेवार शक्तिको आवश्यकता रहेको बताए। सभापति थापाले भने, ‘देश सम्हाल्नुपर्ने मात्रै होइन नागरिकहरूले सुधार्नुपर्ने शक्तिको आवश्यक छ। जसले बदलोस् पनि। त्यो काम कांग्रेसले मात्रै गर्न सक्छ। त्यो कुरा तपाईँहरूले घरघरमा पुगेर जनतालाई जानकारी गराउनुहोस्।’
उनले देश विकासमा सबैभन्दा ठूलो बाधक भ्रष्टाचार रहेको दाबी गर्दै त्यसविरुद्ध निर्णायक रूपमा लड्ने क्षमता कांग्रेससँग मात्रै रहेको जिकिर गरे। हिजो देशलाई हिंसाको आहालबाट बाहिर निकालिएको स्मरण गराउँदै उनले अब भ्रष्टाचारको आहालबाट पनि देशलाई मुक्त गराउने जिम्मेवारी कांग्रेसले नै लिने बताए। परिवर्तन र सुधारको नेतृत्व कांग्रेसबाट मात्रै सम्भव रहेको उनको भनाइ थियो।