प्रधानमन्त्रीलाई भेटेर गृहमन्त्रीले गरे मधेशको अवस्थाबारे ब्रिफिङ

nepaltext
काठमाडौं । प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री सुधन गुरुङबीच मंगलबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भेटवार्ता भएको छ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार भेटमा तराई–मधेशको पछिल्लो सुरक्षा अवस्थाबारे विस्तृत ब्रिफिङ गरिएको थियो। मधेशका प्रभावित क्षेत्रको स्थलगत अनुगमन गरी फर्किएका गृहमन्त्री गुरुङले त्यहाँको वस्तुस्थिति, सुरक्षा व्यवस्थापन र सरकारले गरेका पहलका विषयमा प्रधानमन्त्रीलाई जानकारी गराएका हुन्।

भेटमा सुनसरीबाट सुरु भएको घटनाक्रम, त्यसपछि विभिन्न जिल्लामा विकसित सुरक्षा अवस्था तथा हालसम्मको परिस्थितिबारे समीक्षा गरिएको बताइएको छ। साथै, आगामी दिनमा शान्ति–सुरक्षा थप प्रभावकारी बनाउन अपनाउनुपर्ने रणनीतिका विषयमा पनि सामान्य छलफल भएको स्रोतले जनाएको छ।

गत १० साउनको राति सुनसरीको कप्तानगञ्जमा दुई समुदायबीच भएको विवाद झडपमा परिणत भएपछि सुरक्षाकर्मीले चलाएको गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको थियो। सोही घटनामा घाइते भएका थप दुई जनाको उपचारका क्रममा ज्यान गएको थियो। घटनाको प्रभाव अन्य जिल्लासम्म फैलिँदा सिरहामा पनि गोली लागेर एक जनाको मृत्यु भएको थियो।

बिग्रँदो अवस्था नियन्त्रणमा लिन नेपाली सेना समेत परिचालन गरिएको थियो। प्रधानमन्त्री र गृहमन्त्रीबीचको भेटमा यही घटनाक्रमको पछिल्लो अवस्था, सुरक्षा व्यवस्थापन र भावी तयारीबारे केन्द्रित छलफल भएको बताइएको छ।

प्रतिक्रिया