त्रिशुली–१ को टनेलमा फेला परेका १३ शव हेलिकोप्टरबाट त्रिशुली ल्याइयो

nepaltext

काठमाडौं । माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको टनेलमा फेला परेका १३ शवलाई नेपाली सेनाले हेलिकोप्टरमार्फत त्रिशूली ल्याएको छ ।

नेपाली सेनाका अनुसार आयोजनाको अडिट–३ टनेलभित्र ती शव फेला परेका थिए । शवहरू आज हेलिकोप्टरबाट त्रिशूली ल्याइएको हो । सेनाले प्रभावित क्षेत्रमा खोजी कार्यलाई निरन्तरता दिइरहेको जनाएको छ ।

यसैगरी, त्रिशूली–३ए जलविद्युत् आयोजनाको टनेल तथा पावर हाउस क्षेत्रमा आयोजनाका प्रतिनिधिसहितको संयुक्त टोलीले खोजी कार्य गरिरहेको छ ।

सेनाको विज्ञप्तिअनुसार त्रिशूली–२ बी आयोजनाको पावर हाउस क्षेत्रमा नेपाली सेनासहितको संयुक्त टोलीले तीनवटा एक्साभेटर र लोडर प्रयोग गरी उत्खनन गरेको थियो । उक्त क्रममा भने केही फेला नपरेको जनाइएको छ ।

रसुवा र नुवाकोटका प्रभावित क्षेत्रमा पनि खोजी कार्य जारी रहेको छ । त्रिशूलीपारिको कोलोनी, तुप्चे, दानसिङ, सामरी भञ्ज्याङ, कालिकास्थान र मान्चेतलगायतका स्थानमा बेस स्थापना गरी पैदल गस्तीमार्फत खोजी भइरहेको सेनाले जनाएको छ ।

त्यसैगरी, साँघुरा टनेलहरूको रेकी, प्रभावित क्षेत्रको खोज तथा मूल्याङ्कन र दुर्गम एवं सडक सम्पर्कविहीन स्थानमा ड्रोनमार्फत राहत सामग्री ढुवानी गर्ने काम भइरहेको छ ।

नेपाली सेनाका अनुसार हालसम्म ड्रोनमार्फत नुवाकोट र रसुवाका विभिन्न स्थानमा ३१ हजार ९१ किलोग्राम राहत तथा अत्यावश्यक सामग्री ढुवानी गरिएको छ ।

रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन तथा नवलपरासी पूर्व र पश्चिमका प्रभावित क्षेत्रमा नेपाली सेनाका आठ हजार सात सयभन्दा बढी सैनिक प्रत्यक्ष रूपमा खटिएका छन् । उनीहरूले सम्बन्धित निकायसँग समन्वय गरी खोजी, उद्धार तथा राहतका कार्य सञ्चालन गरिरहेका छन् ।

सेनाले आफ्ना हवाई साधनमार्फत विभिन्न प्रभावित क्षेत्रबाट हालसम्म तीन हजार ९३७ नेपाली र २८३ विदेशी गरी कुल चार हजार २२० जनाको उद्धार गरेको पनि जनाएको छ ।

प्रतिक्रिया