म्याद गुज्रिएका खाद्यवस्तु बिक्री गर्नेलाई दुई लाख जरिवाना

nepaltext

कास्की। पोखरा महानगरपालिका–९ नयाँबजारस्थित मोहित ट्रेडर्सलाई म्याद गुज्रिएका खाद्यवस्तु पुनः प्रशोधन गरी नयाँ प्याकेटमा प्याकेजिङ गरेर बिक्री गरेको पाइएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले रु दुई लाख जरिवाना गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीको नेतृत्वमा आइतबार गरिएको संयुक्त बजार अनुगमनका क्रममा उक्त ट्रेडर्समा बिक्रीका लागि राखिएका अधिकांश खाद्यवस्तु म्याद गुज्रिएका, किराले खाएर खान अयोग्य बनेका तथा पसलको सरसफाइसमेत कमजोर रहेको पाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए ।

अनुगमनका क्रममा म्याद गुज्रिएका चामललगायत खाद्यवस्तुलाई पुनः प्रशोधन गरी नयाँ प्याकेटमा प्याक गरेर बजारमा बिक्री गर्ने गरेकोसमेत पुष्टि भएपछि कानुनअनुसार कारबाही गरिएको उहाँले बताए ।

“आज हामी बजारका ठूला खाद्यान्न पसलको अनुगमन गर्ने भनेर निस्किएका थियौँ । सोही क्रममा मोहित ट्रेडर्समा जनस्वास्थ्यप्रति गम्भीर लापरवाही गरेको पाइएपछि कानुनअनुसार दण्डित गरेका छौँ”, सहायक प्रजिअ बरालले भने ।

म्याद गुज्रिएका तथा किराले खाएका खाद्यवस्तु बिक्रीका लागि राखिएको अवस्थामा फेला परेपछि अनुगमन टोलीले त्यस्ता सामग्रीको व्यवस्थापन गर्न निर्देशन दिँदै थप बिक्रीमा रोक लगाएको छ । साथै, खाद्यवस्तु पुनः प्रशोधन गर्न प्रयोग गरिने रिफाइनिङ मेसिन पोखरा महानगरपालिकाले जफत गरेको छ ।

प्रशासनले बजारका अन्य केही ठूला खाद्य स्टोर्समा समेत अनुगमन गरेको जनाएको छ । अनुगमनका क्रममा खाद्यवस्तुको म्याद, गुणस्तर, भण्डारणको अवस्था, मूल्यसूची, सरसफाइ तथा उपभोक्ताको स्वास्थ्यमा पर्न सक्ने जोखिमलगायतका विषयमा निरीक्षण गरिएको थियो ।

दशैँ, तिहारलगायत ठूला चाडपर्वका समयमा खाद्यवस्तुको माग बढ्ने भएकाले व्यापारीबाट अनुचित लाभ लिने, कृत्रिम अभाव सिर्जना गर्ने तथा कालोबजारी गर्ने सम्भावनालाई ध्यानमा राख्दै बजार अनुगमनलाई थप प्रभावकारी बनाइने सहायक प्रजिअ बरालले बताए ।

उहाँका अनुसार उपभोक्ताको स्वास्थ्य र अधिकार संरक्षणका लागि नियमित तथा आकस्मिक बजार अनुगमनलाई निरन्तरता दिइनेछ ।

प्रतिक्रिया