हिउँपहिरोमा पुरिएर मनास्लुमा दुई जनाको मृत्यू

nepaltext

गोरखा । मनास्लु हिमालमा हिउँपहिरोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा भारतीय मूलका जर्मन नागरिक आरोही ध्रुवज्योति गुहा र उनका नेपाली आरोहण सहयोगी फुर्सेम्बा शेर्पा रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार गएराति सुतिरहेको टेन्टमाथि हिउँपहिरो खस्दा उनीहरू पुरिएका थिए । मकालु एड्भेञ्चर कम्पनी प्रालिमार्फत मनास्लु आरोहणमा गएका दुवै जना तेस्रो शिविरमा टेन्टभित्रै करिब सात फिट हिउँले पुरिएको अवस्थामा मृत फेला परेका हुन् ।

उनीहरूको शव सोमबार हेलिकप्टरमार्फत काठमाडौँ ल्याउने तयारी गरिएको प्रहरीले जनाएको छ ।

यस घटनासँगै यस याममा मनास्लु हिमालमा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । यसअघि दोस्रो शिविरमा सिङ्गापुरका ५० वर्षीय आरोही लाउ वी सेङ र आधारशिविरमा नेपाली सहयोगी २० वर्षीय टासी शेर्पाको मृत्यु भएको थियो ।

यस याममा मनास्लु आरोहणका लागि ४८० जना विदेशी आरोहीले अनुमति लिएका छन् । आरोहणका लागि आवश्यक रोप फिक्सिङको काम सम्पन्न भइसकेको छ भने आरोहीहरू शिखर चुम्ने अन्तिम तयारीमा जुटिरहेका छन् ।

प्रतिक्रिया