गोरखा। गोरखाको मनास्लु आधारशिविरमा विभिन्न माग राख्दै तीन दिनदेखि आमरण अनशनमा बसेका युवाले अनशन स्थगित गरेका छन् ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गण्डकी प्रदेश र मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले वार्ता तथा संवादमार्फत माग पूरा गर्ने प्रतिबद्धता जनाएपछि अनशन स्थगित गरिएको अनशन टोलीका अगुवा दावा नुर्बु लामाले जानकारी दिए ।
उहाँका अनुसार दुवै निकायले आज माग सम्बोधन गर्ने प्रतिबद्धतासहितको पत्र पठाएका थिए । सोही प्रतिबद्धतापछि अनशन स्थगित गरी टोली मनास्लु आधारशिविरबाट सामागाउँ फर्किएको लामाले बताए ।
जलवायु परिवर्तनबाट उत्पन्न जोखिम न्यूनीकरण तथा हिमताल विस्फोटलगायत सम्भावित प्राकृतिक विपद्बाट स्थानीय बासिन्दालाई सुरक्षित राख्नुपर्ने माग गर्दै उनीहरू गत शुक्रबारदेखि आमरण अनशनमा बसेका थिए ।
दावा नुर्बु लामाको नेतृत्वमा ११ जना युवा अनशनमा सहभागी थिए । अनशनमा सहभागी हुनेमा सामागाउँका ३६ वर्षीय दावा नुर्बु लामासहित ३९ वर्षीय निमा छिरिङ लामा, २५ वर्षीय लेक्ष्य लामा, २७ वर्षीय पासाङ नुर्बु लामा, २६ वर्षीय छिरिङ फुञ्सोक लामा, २९ वर्षीय टासी डुण्डुप लामा, २८ वर्षीय छेवाङ घ्यूर्मे लामा, २३ वर्षीय छेवाङ बाबा लामा, २८ वर्षीय कर्मा छिरिङ लामा, २९ वर्षीय पेम्बा छिरिङ लामा र वडा नं. ७ का ३१ वर्षीय पेम्बा गुरुङ रहेका थिए ।
अनशनरत युवाले हिमाली गाउँबस्तीभन्दा माथि नयाँ हिमताल थपिँदै गएको र वीरेन्द्र ताललगायतका हिमतालमा पानीको सतह बढ्दै गएको भन्दै नियमित निगरानीका लागि प्रविधि जडान गर्नुपर्ने माग गरेका थिए ।
त्यस्तै, हिमताल विस्फोटबाट हुनसक्ने सम्भावित जोखिमबारे अध्ययन गर्नुपर्ने, जोखिम न्यूनीकरणका लागि गाउँबस्तीमा साइरन जडान गर्नुपर्ने तथा हिमाली क्षेत्रका विद्यालयमा जलवायु परिवर्तन र त्यसबाट बच्ने उपाय समेटिएको पाठ्यक्रम निर्माण गरी पठनपाठन गराउनुपर्ने उनीहरूको माग थियो ।
यसैगरी, भविष्यमा हुनसक्ने हिमताल विस्फोटको जोखिम अध्ययन गर्नुपर्ने, नेपाल–चीन सीमा क्षेत्रका तालको नियमित संयुक्त निगरानी गर्नुपर्ने तथा जलवायु परिवर्तनका कारण नेपालले भोगिरहेको क्षतिको क्षतिपूर्ति र जलवायु न्याय सुनिश्चित गर्नुपर्ने मागसमेत युवाले अघि सारेका थिए ।