एनपीएल दोस्रो क्वालिफायर: लुम्बिनीले विराटनगरलाई १३५ रनको लक्ष्य सेट गर्यो

nepaltext.com

२५ मंसिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई १३५ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनाएको हो।

लुम्बिनीका ओपनर डार्शी सर्टले सर्वाधिक ४५ रन बनाए। उनले ४१ बल खेलेर ३ चौका र १ छक्का प्रहार गरे। टिमको स्कोर ८ मा हुँदा दिनेश अधिकारी १ रनमा आउट भएका थिए। सर्टले कप्तान रोहित पौडेलसँग दोस्रो विकेटका लागि ६९ रनको साझेदारी गरेका थिए। रोहितले ३० बलमा २ चौका र २ छक्का प्रहार गर्दै ३४ रन योगदान गरे। लगातार दोस्रो खेलमा ओपनिङ गरेका दिनेश अधिकारी भने प्रभावशाली ब्याटिङ गर्न सकेनन्।

विकेटकिपर निरोशन डिकवेलाले २२ बलमा ४ चौका प्रहार गर्दै २९ रन जोडे। सन्दीप जोरा र जेजे स्मिथ खाता खोल्न सकेनन् भने दिलीपन नाथ १ रनमा आउट भए। शेर मल्लले ७ रन जोडेर इनिङ्स समाप्त गरे। पहिलो १० ओभरमा ६९/१ को स्थिति रहेको लुम्बिनीले पछिल्लो १० ओभरमा मात्र ६५ रन जोड्दा थप ७ विकेट गुमाएको थियो।

विराटनगरका बलरमध्ये सुभाष भण्डारी, कप्तान सन्दीप लामिछाने र प्रतिश जिसीले उत्कृष्ट बलिङ गर्दै लुम्बिनीको इनिङ्स दबाबमा पारे। सुभाषले ४ ओभरमा १६ रन खर्चेर ३ विकेट लिए भने प्रतिशले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए। कप्तान सन्दीपले ४ ओभरमा १८ रन खर्चेर २ विकेट हात पारे।

आजको खेलको विजेता फाइनलमा सुदूरपश्चिम रोयल्ससँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया