काठमाडौं । चितवन राष्ट्रिय निकुञ्जको सौराहा–खोरसोर क्षेत्रमा चर्चित जंगली भाले हात्ती ‘रोनाल्डो’ मृत फेला परेको छ । करिब ५३ वर्ष उमेरको रोनाल्डोको धार्मिक विधिअनुसार अन्त्येष्टि गरिएको छ ।
निकुञ्ज स्रोतका अनुसार रोनाल्डो बिसहजारी पोस्ट नजिकै मृत अवस्थामा फेला परेको थियो । पोस्टमार्टमका क्रममा हात्तीको मुखमा विद्युत्को तार भेटिएपछि तारमा बेरिएर मृत्यु भएको हुन सक्ने आशङ्का गरिएको छ । यद्यपि, मृत्युको वास्तविक कारण भने अनुसन्धानपछि मात्रै पुष्टि हुने जनाइएको छ ।
घटनालाई निकुञ्जले गम्भीर रूपमा लिएको जनाएको छ । मृत हात्तीको तस्वीर तथा भिडियो खिच्न पत्रकारहरूलाई रोक्न निकुञ्जले सेना परिचालन गरेको थियो । घटनाबारे थप विवरण सार्वजनिक हुन बाँकी छ ।
चितवन राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत तथा सूचना अधिकारी अविनाश थापा मगरले रोनाल्डोको मृत्युको वास्तविक कारण अनुसन्धानपछि मात्रै यकिन हुने बताएका छन् ।
सौराहा–खोरसोर क्षेत्रमा ‘सेलिब्रेटी’ हात्तीका रूपमा परिचित रोनाल्डोको खोरसोरस्थित हात्ती प्रजनन तथा तालिम केन्द्रसँग लामो समयदेखि विशेष सम्बन्ध रहँदै आएको थियो । निकुञ्जका प्रमुख संरक्षण अधिकृत दिलबहादुर पुर्जा पुनका अनुसार केन्द्रमा जन्मिएका धेरै छावाका पिता रोनाल्डो नै हुन् ।
२०८३ असारसम्म केन्द्रमा जन्मिएका ६९ वटा छावामध्ये ३८ वटा रोनाल्डोकै सन्तान रहेको विवरण छ । यही कारण रोनाल्डो हात्ती प्रजनन केन्द्रसँग विशेष रूपमा जोडिएको थियो ।
विशाल शरीर, फूर्तिलो चाल र अन्य भाले हात्तीसँग भिड्न सक्ने स्वभावका कारण रोनाल्डो पर्यटक तथा स्थानीयमाझ लोकप्रिय थियो । फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोको नामबाट उक्त हात्तीको नाम राखिएको बताइन्छ ।
निकुञ्जका अनुसार अन्य हात्तीसँगको संघर्षका क्रममा रोनाल्डोको शरीरमा चोटपटकका चिन्हसमेत देखिएका थिए । संघर्षकै क्रममा उसले आफ्नो पुच्छरसमेत गुमाएको थियो ।
रोनाल्डोको मृत्युले सौराहा–खोरसोर क्षेत्रमा लामो समयदेखि परिचित एउटा चर्चित जंगली हात्तीको अन्त्य भएको छ । घटनाको प्रकृति, मृत्युको कारण तथा विद्युत्को तारसँगको सम्बन्धबारे निकुञ्जको अनुसन्धान र आधिकारिक विज्ञप्तिपछि थप विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ ।