काठमाडौं । जापानमा आयोजना भइरहेको २०औँ एसियन गेम्सको औपचारिक उद्घाटन आज हुँदैछ । स्थानीय समयअनुसार साँझ ६ बजे नागोया सिटीस्थित मिजुहो पार्क एथलेटिक्स स्टेडियममा उद्घाटन समारोह आयोजना हुने कार्यक्रम छ ।
औपचारिक उद्घाटन हुनुअघि नै विभिन्न खेलका प्रतियोगिता सुरु भइसकेका छन् । जापानको आइची प्रिफेक्चरका विभिन्न सहरसँगै गिफु, शिजुओका, टोकियो र ओसाकामा समेत खेलकुद प्रतियोगिताहरू सञ्चालन भइरहेका छन् ।
जापानले तेस्रोपटक एसियाली खेलकुद आयोजना गर्न लागेको हो । यसअघि जापानले सन् १९५८ र १९९४ मा एसियन गेम्स आयोजना गरेको थियो । ३२ वर्षपछि जापान फर्किएको प्रतियोगितामा ४३ खेलका ७१ विधामा कुल ४६९ पदकका लागि प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा करिब १७ हजार खेलाडी तथा अफिसियल सहभागी हुँदैछन् । यसपटक मिक्स्ड मार्सल आर्ट्स, प्याडेल, सर्फिङ, भर्चुअल तेक्वान्दो र टेकबललाई नयाँ खेलका रूपमा समावेश गरिएको छ । यस्तै, ई–स्पोर्ट्स र ब्रेकिङले पनि प्रतियोगितामा स्थान पाएका छन् । सहभागी खेलाडी तथा अफिसियललाई होटल र क्रुजमा राखिएको छ ।
नेपालबाट २१ खेलमा १३५ खेलाडी सहभागी
२०औँ एसियन गेम्समा नेपालबाट २१ खेलका १३५ खेलाडीले सहभागिता जनाउँदैछन् । सहभागीमध्ये ५७ महिला र ७८ पुरुष खेलाडी रहेका छन् । यसबाहेक नेपालबाट २९ प्रशिक्षक, १७ व्यवस्थापक र दुई खेल प्राविधिक पनि सहभागी हुनेछन् ।
नेपालबाट विभिन्न खेलमा सहभागी हुने खेलाडीको विवरण यसप्रकार छ :
आर्चरी : २ जना
एथलेटिक्स : ६ जना
ब्याडमिन्टन : ४ जना
बक्सिङ : ७ जना
क्रिकेट : १५ जना
साइक्लिङ : २ जना
गल्फ : ४ जना
जुडो : ६ जना
कबड्डी : २४ जना
कराते : ८ जना
र्याफ्टिङ एन्ड क्यानोइङ : २ जना
स्केट एन्ड स्केट बोर्डिङ : २ जना
सफ्ट टेनिस : ४ जना
स्क्वास : २ जना
पौडी : ५ जना
टेबलटेनिस : ६ जना
तेक्वान्दो : ३ जना
टेनिस : ५ जना
भलिबल : १२ जना
कुस्ती : ६ जना
उसु : १० जना
यसैबीच, नेपाल महिला भलिबल टोली भने प्रतियोगितामा पदकको दौडबाट बाहिरिसकेको छ ।