दक्षिण सुडानमा शरणार्थीको सङ्ख्या उच्च, महिला र बालबालिका ७५ प्रतिशत

nepaltext

जुबा । दक्षिण सुडानले देशभरका ३१ स्थानमा ६ लाख ६१ हजार ५२९ जना शरणार्थीलाई आश्रय दिइरहेको संयुक्त राष्ट्रसंघीय शरणार्थीसम्बन्धी उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले जनाएको छ।

कार्यालयले शुक्रबार जारी गरेको विज्ञप्तिअनुसार दक्षिण सुडानमा रहेका शरणार्थीमध्ये ६ लाख ५७ हजार ४७९ जना दर्ता भएका शरणार्थी छन् भने चार हजार ५० जना शरण खोजिरहेका व्यक्ति छन्।

दक्षिण सुडानमा आश्रय लिइरहेका शरणार्थीमध्ये अधिकांश सुडानी नागरिक रहेका छन्। उनीहरूले कुल शरणार्थी जनसङ्ख्याको ९५ प्रतिशत हिस्सा ओगटेका छन्। त्यस्तै, प्रजातान्त्रिक गणतन्त्र कङ्गो (डीआर कङ्गो) का नागरिकको हिस्सा दुई प्रतिशत रहेको छ। बाँकी शरणार्थीमा इथियोपिया, इरिट्रिया, मध्य अफ्रिकी गणतन्त्रलगायत विभिन्न देशका नागरिक रहेका छन्।

सुडानमा जारी द्वन्द्वका कारण आफ्नो देश छाडेर दक्षिण सुडान प्रवेश गर्ने व्यक्तिलाई त्यहाँको सरकारले प्रथम दृष्टिमै शरणार्थीको हैसियत प्रदान गर्दै आएको यूएनएचसीआरले जनाएको छ।

कार्यालयका अनुसार दक्षिण सुडानमा रहेका शरणार्थी जनसङ्ख्यामा महिला तथा बालबालिकाको हिस्सा ७५ प्रतिशत छ। शून्यदेखि ५९ वर्ष उमेर समूहका महिलामात्रै कुल शरणार्थी जनसङ्ख्याको ४९ प्रतिशत रहेका छन्।

शरण खोजिरहेका चार हजार ५० जनामध्ये इरिट्रिया र इथियोपियाका नागरिक समान ३८–३८ प्रतिशत छन्। त्यस्तै, बुरुन्डीका नागरिकको हिस्सा ११ प्रतिशत रहेको छ। बाँकी शरण खोज्ने व्यक्तिहरू युगान्डा, सोमालियालगायत विभिन्न देशका नागरिक रहेको विज्ञप्तिमा उल्लेख छ।

यूएनएचसीआरका अनुसार दक्षिण सुडान क्षेत्रकै ठूलो विस्थापन सङ्कटको केन्द्रमा रहेको छ। यसैबीच, २३ लाखभन्दा बढी दक्षिण सुडानी नागरिक छिमेकी मुलुकहरूमा शरणार्थीका रूपमा बसिरहेका छन्। उनीहरू प्रजातान्त्रिक गणतन्त्र कङ्गो, इथियोपिया, केन्या, युगान्डा र सुडानलगायत देशमा रहेका छन्।

प्रतिक्रिया