अन्तर्राष्ट्रिय र्याफ्टिङ संस्थामा नेपाली प्रतिनिधित्व, गौतम बने बोर्ड मेम्बर
nepaltext
१२ बैशाख २०८३, शनिवार
काठमाडौं ।नेपालका सुदिप राज गौतम युनाइटेड र्याफ्टिङको बोर्ड सदस्य चयन भएका छन्। नेपाल र्याफ्टिङ एण्ड कनोइङ एसोसिएसनका महासचिव रहेका गौतम फ्रान्सको पाउमा आयोजित पहिलो इलेक्टिभ कंग्रेसबाट विश्व र्याफ्टिङको सर्वोच्च निकायमा स्थान बनाउन सफल भएका हुन्।
उक्त कंग्रेसले वर्ल्ड र्याफ्टिङ फेडरेसन र इन्टरनेसनल र्याफ्टिङ फेडरेसनलाई औपचारिक रूपमा एकीकृत गर्दै र्याफ्टिङ खेलका लागि एउटै विश्वव्यापी संरचना स्थापना गरेको छ। दुई संस्थाबीच मर्ज सहमतिपछि पहिलोपटक सम्पन्न कंग्रेसले नयाँ जनरल बोर्ड समेत गठन गरेको हो।
नयाँ बोर्डको अध्यक्षमा इटलीका डानिलो बर्माज चयन भएका छन् भने उपाध्यक्षमा अल्बानियाकी ब्लेरिना अगो रहेकी छन्। अन्य बोर्ड सदस्यहरूमा विभिन्न देशका प्रतिनिधिहरू समावेश भएका छन्।
एसियाबाट कन्टिनेन्टल काउन्सिलमा नेपालका गौतमसँगै जापानका शिगेतो असानो र युएईका यासेर अल्काथिरी चयन भएका छन्। कंग्रेसमा ५६ राष्ट्रिय संघले मतदान गरेका थिए।
नवगठित बोर्डले छिट्टै पहिलो बैठक बसेर रणनीतिक प्राथमिकता र संगठनात्मक कार्ययोजना तय गर्ने जनाएको छ। साथै, युनाइटेड र्याफ्टिङले विश्वभरका खेलाडी, राष्ट्रिय संघ र सरोकारवालालाई समेट्दै समावेशी, पारदर्शी र भविष्यउन्मुख संस्था निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।