न्यूजिल्यान्ड ५ विकेटले विजयी, अफगानिस्तान १८२ रनमा समेटियो

nepaltext.com

काठमाडौं । भारत र श्रीलंकामा संयुक्त रुपमा आयोजना भइरहेको टी–२० विश्वकप प्रतियोगितामा न्यूजिल्यान्डले विजयी सुरुवात गरेको छ। भर्खरै सम्पन्न खेलमा न्यूजिल्यान्डले अफगानिस्तानलाई ५ विकेटले पराजित गरेको हो। अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ गर्दै २० ओभरमा ६ विकेट गुमाएर १८२ रन बनाएको थियो। गुलबदिन नइबले आक्रामक अर्धशतकीय पारी खेलेका थिए, उनले ३५ बलमा ४ छक्का र ३ चौकाको सहयोगमा ६३ रन जोडेका थिए। त्यस्तै, सेदिकुल्लाह अटलले २९, रहमानुल्लह गुरबाजले २७, डार्बिस रसुलीले २० र अजमतुल्लाह ओमारजाइले १४ रन बनाए। बलिङतर्फ न्यूजिल्यान्डका लोकी फर्ग्युसनले दुई विकेट लिँदा म्याट हेनरी, रचिन रविन्द्र र जेकोब डुफीले समान एक–एक विकेट हात पारे।

न्यूजिल्यान्डले १८३ रनको लक्ष्य १७.५ ओभरमा ५ विकेट गुमाएर पछ्यायो। टिम शेफर्टले विस्फोटक पारी खेलेर ४२ बलमा ७ चौका र ३ छक्काको सहयोगमा ६५ रन बनाए। त्यस्तै, ग्लेन फिलिप्सले ४२, मार्क चापम्यानले २८, डेरिल मिचेल २५ र मिचेल सान्टनर १४ रनमा नटआउट रहेर टिमलाई जित दिलाए। बलिङतर्फ अफगानिस्तानका मुजीब रहमानले दुई विकेट लिँदा अजमतुल्लाह ओमारजाइ, राशिद खान र मोहम्मद नाबीले एक–एक विकेट लिए।

प्रतिक्रिया