काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणले हवाई इन्धनको मूल्य बढेपछि आन्तरिक हवाई भाडा समायोजन गर्दै नयाँ दर सार्वजनिक गरेको छ। नयाँ भाडादर २०८३ साउन १९ गते (४ अगस्ट २०२६) देखि लागू भएको प्राधिकरणले जनाएको छ।
नेपाल आयल निगमले २ अगस्ट २०२६ देखि हवाई इन्धनको मूल्य प्रतिलिटर २० रुपैयाँ बढाएपछि प्राधिकरणले भाडादर पुनः निर्धारण गरेको हो। यससँगै हवाई इन्धनको मूल्य प्रतिलिटर २२९ रुपैयाँबाट बढेर २४९ रुपैयाँ पुगेको छ, जुन ८.७३ प्रतिशतको वृद्धि हो।
प्राधिकरणका अनुसार मुख्य (ट्रंक) हवाई रुटमा प्रतियात्रु प्रतिमिनेट इन्धन शुल्क १३२.४५ रुपैयाँ कायम गरिएको छ।
नयाँ भाडादरअनुसार काठमाडौं–माउन्टेन क्षेत्रको भाडा ७ हजार ८६० रुपैयाँबाट बढेर ८ हजार ५४५ रुपैयाँ पुगेको छ। काठमाडौं–भद्रपुर ६ हजार ८७५ रुपैयाँबाट ७ हजार ४८० रुपैयाँ, काठमाडौं–विराटनगर ५ हजार ५०० रुपैयाँबाट ५ हजार ९८० रुपैयाँ, काठमाडौं–जनकपुर २ हजार ९४५ रुपैयाँबाट ३ हजार २०५ रुपैयाँ तथा काठमाडौं–पोखरा ३ हजार ६३५ रुपैयाँबाट ३ हजार ९५० रुपैयाँ पुगेको छ।
यस्तै, काठमाडौं–भैरहवा रुटको भाडा ४ हजार ७१५ रुपैयाँबाट ५ हजार १२५ रुपैयाँ, काठमाडौं–नेपालगञ्ज ७ हजार ४६५ रुपैयाँबाट ८ हजार १२० रुपैयाँ, काठमाडौं–धनगढी १० हजार १२० रुपैयाँबाट ११ हजार रुपैयाँ तथा काठमाडौं–सुर्खेत ७ हजार ९१५ रुपैयाँबाट ८ हजार ६०५ रुपैयाँ कायम गरिएको छ।
दुर्गम तथा छोटो दूरी (एसटीओएल) उडानमा पनि इन्धन शुल्क बढाइएको छ। यस क्षेत्रमा प्रतिलिटर इन्धनको मूल्य २२९ रुपैयाँबाट २४९ रुपैयाँ पुगेपछि प्रतियात्रु प्रतिमिनेट इन्धन शुल्क ९४.६२ रुपैयाँ निर्धारण गरिएको छ।
प्राधिकरणले दुर्गम क्षेत्रको नयाँ शुल्क निर्धारण गर्दा प्रतिलिटर इन्धन मूल्य २४९ रुपैयाँ, प्रतिउडान १५ यात्रु र प्रतिघण्टा ३४२ लिटर इन्धन खपतको आधार लिएको जनाएको छ।
प्राधिकरणका अनुसार संशोधित हवाई भाडा तथा इन्धन शुल्क ४ अगस्ट २०२६ देखि लागू भइसकेको छ।