कालिञ्चोक हाईड्रोपावरद्वारा प्रवर्दित साँगु-सोरुङ आयोजनाको व्यवसायीक विद्युत उत्पादन सुरु,

nepaltext

काठमाडौं । कालिञ्चोक हाइड्रोपावर लिमिटेडद्वारा प्रवर्द्धित साङ्गु–सोरुङ खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भई व्यावसायिक विद्युत् उत्पादन सुरु भएको छ। कम्पनीका अनुसार आयोजना गत सातादेखि सञ्चालनमा आएको हो।

दोलखाको बिगु र कालिञ्चोक गाउँपालिकाबाट बग्ने साङ्गुखोलामा निर्माण गरिएको आयोजनाको जडित क्षमता ५ मेगावाट रहेको छ। कुल १ अर्ब २० करोड रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको आयोजनाको प्रतिमेगावाट लागत करिब २४ करोड १४ लाख रुपैयाँ रहेको कम्पनीले जनाएको छ।

स्थानीय समुदायको उल्लेखनीय सहभागितामा निर्माण भएको यस आयोजनामा प्रभावित क्षेत्रका बासिन्दासहित सर्वसाधारणले पनि शेयर लगानी गरेका छन्। कम्पनीको शेयर हाल नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत भई नियमित कारोबार भइरहेको छ।

आयोजना सञ्चालनमा आएपछि कम्पनीकी अध्यक्ष इन्दिरा पन्तले आयोजना निर्माणदेखि व्यावसायिक उत्पादनसम्मको यात्रामा साथ, सहयोग, विश्वास र योगदान पुर्‍याउने सबैप्रति आभार व्यक्त गरेकी छन्।

उनले शेयरधनी, प्रमुख वित्तीय साझेदार राष्ट्रिय वाणिज्य बैंक लिमिटेड, सम्बन्धित सरकारी तथा नियामक निकाय, निर्माण कम्पनी, परामर्शदाता, प्राविधिक टोली, कर्मचारी, स्थानीय समुदाय तथा शुभेच्छुकहरूको सहयोगकै कारण आयोजना सफलतापूर्वक सम्पन्न भएको बताएकी छन्।

अध्यक्ष पन्तले साङ्गु–सोरुङ जलविद्युत् आयोजनाले नेपालको ऊर्जा सुरक्षालाई मजबुत बनाउने, स्वदेशी विद्युत् उत्पादन बढाउने, स्थानीय आर्थिक गतिविधि विस्तार गर्ने र राष्ट्रिय आर्थिक समृद्धिमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरिन्।

उनले यो सफलता कम्पनीका लागि मात्र नभई नेपालको निजी जलविद्युत् क्षेत्रमा पनि महत्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै आगामी दिनमा पनि सबै पक्षबाट निरन्तर सहयोग, विश्वास र शुभेच्छा प्राप्त हुने अपेक्षा व्यक्त गरेकी छन्।


प्रतिक्रिया