सुनसरी लगायतका घटनाको निष्पक्ष अनुसन्धान गर्न कांग्रेसको माग

nepaltext

काठमाडौं– नेपाली कांग्रेसले सुनसरीसहित विभिन्न स्थानमा भएका हिंसात्मक घटनाको निष्पक्ष छानबिन गरी त्यससम्बन्धी प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग माग गरेको छ।

मंगलबार प्रतिनिधिसभाको बैठक सुरु हुनेबित्तिकै कांग्रेसका प्रमुख सचेतक निश्कल राईले घटनाको वास्तविक कारण, सुरक्षा व्यवस्थामा देखिएका कमजोरी, सामाजिक सञ्जालमा फैलिएका अफवाहको प्रभाव तथा राज्यले अपनाएको प्रक्रियाबारे निष्पक्ष अनुसन्धान गरी सार्वजनिक प्रतिवेदन ल्याउनुपर्ने बताएका हुन्।

उनले सामाजिक सञ्जालमार्फत घृणा फैलाउने र झुटा सूचना प्रवाह गर्ने व्यक्तिमाथि प्रचलित कानुनअनुसार कारबाही गर्न आग्रह गर्दै कुनै पनि धर्म वा समुदायलाई सामूहिक रूपमा दोषी ठहर गर्न नहुने धारणा राखे।

राईले सरकारले गरेका सहमति, त्यसको संवैधानिक आधार, कार्यान्वयन प्रक्रिया र समयसीमाबारे संसद र आमनागरिकलाई स्पष्ट जानकारी गराउन पनि माग गरे।

उनले संवेदनशील विषयमा हुने निर्णय बन्द कोठामा नभई खुला राष्ट्रिय संवादमार्फत हुनुपर्ने उल्लेख गर्दै असहमतिलाई दबाएर राष्ट्रिय एकता कायम गर्न नसकिने बताए।

सांसद राईले घृणाभन्दा संवाद, अफवाहभन्दा सत्य, प्रतिशोधभन्दा न्याय र विभाजनभन्दा राष्ट्रिय एकताको बाटो रोज्नु नै संविधानको भावना र नेपालको भविष्यका लागि आवश्यक रहेको धारणा व्यक्त गरे।

प्रतिक्रिया