बिचौलिया भट्टसहित ४० भन्दा धेरैलाई मुद्दा चलाउन सिफारिस

nepaltext

काठमाडौँ । बिचौलिया दीपक भट्टसहित ४० भन्दा धेरै व्यक्तिविरुद्ध मुद्दा चलाउन प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले सिफारिस गरेको छ । हिमालयन रि–इन्स्योरेन्ससहित पाँच कम्पनीको तीन अर्ब ७३ करोड रुपैयाँ दुरुपयोग गरी व्यक्तिगत लाभका लागि सेयर खरिद गरेको निष्कर्षसहित सिआइबीले बिमा कसुरअन्तर्गत जिल्ला सरकारी वकिल कार्यालय, काठमाडौंमा प्रतिवेदन बुझाएको हो ।

सिआइबीले हिमालयन रिका तत्कालीन अध्यक्ष शेखर गोल्छा, सञ्चालकहरू सुलभ अग्रवाल, अमित मोर, राजीव मोर, शुभेच्छा खरेल, सुभाषकुमार झुनझुनवाला, भारतीय नागरिक मनीष कुमार, प्रमुख कार्यकारी अधिकृत उपासना पौडेललगायतविरुद्ध मुद्दा चलाउन सिफारिस गरेको जनाएको छ । दीपक भट्ट र सुलभ अग्रवाल भने हाल हिरासतमा छन् ।

अनुसन्धानअनुसार भट्टले इन्फिनिटी होल्डिङ्समार्फत हिमालयन रिमा ४.५० प्रतिशत अर्थात् ४६ लाख ८० हजार कित्ता सेयर लगानी गरेका छन् । कम्पनी स्थापना र सञ्चालन प्रक्रियामै नीतिगत तथा संगठित अनियमितता भएको तथा कम्पनीको रकम निजी प्रयोजनमा प्रयोग गरिएको निष्कर्ष सिआइबीको छ ।

प्रतिवेदनअनुसार हिमालयन रिबाट दुई अर्ब ८१ करोड ३३ लाख रुपैयाँ, हिमालयन क्याप सर्भबाट ३७ करोड रुपैयाँ, हिमालयन सेक्युरिटिज बैंकर लिमिटेडबाट २२ करोड १९ लाख रुपैयाँ, एचएलआई लार्ज क्याप फन्डबाट २५ करोड रुपैयाँ तथा नेपाल माइक्रो इन्स्योरेन्सबाट १६ करोड रुपैयाँ दुरुपयोग गरिएको उल्लेख छ । उक्त रकम सेयर बजारमा निश्चित कम्पनीको मूल्य बढाउने र घटाउने उद्देश्यले प्रयोग गरिएको आरोप पनि छ ।

सिआइबीले हिमालयन इन्भेस्टमेन्ट बैंकका कपिलकुमार दाहाल र दीपककुमार श्रेष्ठ, एचएलआई लार्ज क्याप फन्डका सुमेरशमशेर जबरा, जावलाखेल डिस्टिलरीका राजबहादुर शाह तथा भृकुटी ब्रोकरका सञ्चालक सन्दीप चाचनलगायतविरुद्ध पनि धितोपत्रसम्बन्धी कसुरमा मुद्दा चलाउन सिफारिस गरेको छ । धितोपत्र ऐनअनुसार एक करोड रुपैयाँभन्दा बढी बिगो भएको कसुरमा तीनदेखि पाँच वर्षसम्म कैद तथा बिगोअनुसार जरिवानाको व्यवस्था छ ।

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पनि दीपक भट्ट र सुलभ अग्रवालमाथिको अनुसन्धान पूरा गरी विशेष सरकारी वकिल कार्यालयमा प्रतिवेदन बुझाइसकेको छ । बिमासम्बन्धी कसुरमा मुद्दा दायर भएपछि सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दा पनि अघि बढाइने तयारी रहेको प्रशासन स्रोतले जनाएको छ ।

त्यस्तै, भट्टसँग मिलेर सेयर बजारमा भित्री कारोबार गरेको आरोपमा व्यवसायीसहित ७५ जनाभन्दा धेरै व्यक्ति अनुसन्धानको दायरामा आएको अनुसन्धानमा संलग्न एक अधिकारीले बताएका छन् । सिआइबीले ५६ सञ्चालकको सेयर रोक्का गर्दै कारोबार विवरण माग गरेको छ । सिआइबीले धितोपत्र तथा बैंकिङ कसुरअन्तर्गत थप अनुसन्धान जारी राखेको जनाएको छ ।

प्रतिक्रिया