काठमाडौँ । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले पार्टी कार्यालय र नेताहरूका निवासलाई कार्यकर्ता तथा शुभेच्छुकका लागि विश्वास, आत्मीयता र खुला संवादको केन्द्रका रूपमा विकास गर्नुपर्ने बताएका छन्।
एमाले अध्यक्ष केपी शर्मा ओलीको भक्तपुरस्थित गुन्डु निवासमा बागमती प्रदेश संसदीय दलका नेता जगन्नाथ थपलिया बेहोस भएको घटनापछि सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भट्टराईले पार्टी नेतृत्वसँग सम्बन्धित स्थानहरू कार्यकर्ता र नेतृत्वबीचको सम्बन्धलाई थप सुदृढ बनाउने थलो बन्नुपर्ने धारणा राखेका हुन्।
उनले पार्टी कार्यालय र नेताहरूका निवासमा कार्यकर्ताले आफ्ना सुख–दुःख खुलेर साटासाट गर्न सक्ने, पारिवारिक तथा कमरेडली वातावरणमा विचार आदानप्रदान गर्न सक्ने अवस्था सुनिश्चित गर्नुपर्ने उल्लेख गरेका छन्।
भट्टराईले यस्ता स्थानले संगठनभित्र विश्वास, अपनत्व र एकताको भावना बलियो बनाउने विश्वास व्यक्त गर्दै कठिन परिस्थितिमा पनि कार्यकर्ताले सहज रूपमा पुग्न सक्ने वातावरण निर्माण गर्न आवश्यक रहेको बताएका छन्।