काठमाडौँ । नेपाली कांग्रेस झापा–५ क्षेत्रीय कार्यसमितिले कुनै पनि राजनीतिक दलसँग गठबन्धन गर्ने विषयमा कुनै छलफल नभएको स्पष्ट गर्दै भ्रामक र कपोलकल्पित हल्लाको पछि नलाग्न आग्रह गरेको छ । क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले बुधबार जारी गरेको विज्ञप्तिमा निर्वाचनको समय नजिकिँदै गर्दा केही व्यक्तिहरूले सामाजिक सञ्जालमार्फत कपोलकल्पित समाचार फैलाएर कार्यकर्ता र मतदातामा भ्रम सिर्जना गर्न खोजेकोप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपाली कांग्रेसका केन्द्रीय सभापति गगनकुमार थापाले निर्वाचन अगाडि कुनै अर्को दलसँग गठबन्धन नहुने स्पष्ट पारिसक्नुभएको छ । कांग्रेस आफ्नो प्रतिबद्धतामा अडिग छ । शुभचिन्तक र कार्यकर्ताहरूलाई कुनै पनि भ्रम वा अफबाहको पछि नलाग्न अनुरोध छ ।’ साथै विज्ञप्तिमा आगामी २०८२ साल फाल्गुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीका उम्मेदवार मन्धरा चिमोरिया पौड्याललाई अत्यधिक मतले विजयी गराउन सम्पूर्ण कार्यकर्तालाई निर्वाचन केन्द्रित कार्यक्रममा एकजुट हुन आह्वान गरिएको छ । पार्टीले आम मतदातालाई कांग्रेसको चुनाव चिन्ह रूखमा मतदान गर्न र कुनै पनि भ्रामक हल्लाको पछि नलाग्न आग्रह गरेको छ ।