दोलखा । आगामी निर्वाचनको सरगर्मी बढेसँगै दोलखामा विभिन्न राजनीतिक दल परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेहरूको लहर चलेको छ। यसै क्रममा कालिञ्चोक गाउँपालिकामा नेकपा (एमाले) का प्रभावशाली नेता तथा कार्यकर्ताहरू सामूहिक रूपमा कांग्रेसमा प्रवेश गरेका छन्।
कालिञ्चोक गाउँपालिका वडा नम्बर २, बाबरेमा शनिबार आयोजित एक विशेष कार्यक्रमका बीच एमाले नेता लालबहादुर थामीको नेतृत्वमा च्युफुर थामी, सन्ते थामी (ए) र सन्ते थामी (बी) लगायतका नेताहरू कांग्रेसमा प्रवेश गरेका हुन्। उनीहरूसँगै धनकुमार थामी, निरमाया थामी र धनबहादुर थामीले आफ्नो पुरानो घर नेपाली कांग्रेसमै फर्किएको घोषणा गरेका छन्।
नवप्रवेशीहरूलाई दोलखा प्रतिनिधिसभा सदस्यका उम्मेदवार अजयबाबु शिवाकोटी र बागमती प्रदेशका पूर्व अर्थमन्त्री कुन्दनराज काफ्लेले खादा तथा माला लगाएर पार्टीमा भव्य स्वागत गर्नुभयो।
युवा पुस्ता (जेन-जी) को आकर्षण यसपटकको पार्टी प्रवेश कार्यक्रममा नयाँ पुस्ताका युवाहरूको पनि उल्लेख्य सहभागिता देखिएको छ। देवबहादुर थामी र सञ्जय थामी लगायतका युवाहरूले कांग्रेसको विचार र वर्तमान नेतृत्वप्रति भरोसा व्यक्त गर्दै पार्टी सदस्यता लिएका छन्।
किन रोज्दैछन् कांग्रेस? स्थानीयका अनुसार, प्रतिनिधिसभा सदस्यका उम्मेदवार अजयबाबु शिवाकोटीको स्वच्छ छवि, भ्रष्टाचार विरोधी अभियान र प्रखर युवा नेतृत्वका कारण अन्य दलका कार्यकर्ताहरूमा समेत उत्साह थपिएको छ। नवप्रवेशीहरूले कांग्रेसको विकासप्रतिको स्पष्ट दृष्टिकोण र लोकतन्त्र रक्षाका लागि शिवाकोटी जस्तो जुझारु नेतृत्व आवश्यक रहेको महसुस गर्दै आफूहरूले वर्षौँदेखिको पार्टी साइनो तोडेर कांग्रेस रोजेको बताएका छन्।
पछिल्लो समय दोलखाका विभिन्न स्थानीय तहमा कांग्रेस प्रवेश गर्नेहरूको संख्या दिनानुदिन बढ्दै गएपछि जिल्लाको राजनीतिक समीकरणमा समेत परिवर्तन आउने संकेत देखिएको छ।