बङ्गलादेशमा दादुराका कारण ३११ बालबालिकाको मृत्यु

nepaltext

ढाका । बङ्गलादेशमा दादुराको प्रकोप भयावह बन्दै गएको छ। गत मार्चदेखि हालसम्म दादुराका कारण ३११ बालबालिकाको मृत्यु भएको छ भने उपचारका लागि अस्पताल तथा स्वास्थ्य संस्थामा पुगेका सम्भावित सङ्क्रमितको सङ्ख्या ४१ हजार ७९३ पुगेको छ।

स्वास्थ्य अधिकारीहरूका अनुसार मार्च १५ देखि सुरु भएको प्रकोपयता पछिल्लो २४ घण्टामा मात्रै १७ बालबालिकाको मृत्यु भएको छ, जुन एकै दिनमा भएको सबैभन्दा बढी मृत्यु हो।

सरकारी स्वास्थ्य सेवाका प्रवक्ता जाहिद रेहानले केही बालबालिकाको अवस्था अझै गम्भीर रहेकाले मृतकको सङ्ख्या थप बढ्न सक्ने बताएका छन्। उनका अनुसार सबै घटनाको विवरण सङ्कलन गर्ने कार्य जारी छ।

दादुरा अत्यन्त सङ्क्रामक भाइरल रोग हो, जो संक्रमित व्यक्तिको खोकी, हाच्छ्युँ वा हावामार्फत सजिलै फैलिन्छ। यसले विशेषगरी बालबालिकामा मस्तिष्क सुन्निने, निमोनिया तथा गम्भीर श्वासप्रश्वाससम्बन्धी समस्या निम्त्याउन सक्छ।

बङ्गलादेशमा हाल देखिएका अधिकांश सङ्क्रमित छ महिनादेखि पाँच वर्ष उमेर समूहका बालबालिका छन्। प्रकोप नियन्त्रणका लागि स्वास्थ्य अधिकारीहरूले संयुक्त राष्ट्र बाल कोष (युनिसेफ), विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र सुरक्षा निकायको सहयोगमा १७ करोड जनसङ्ख्या भएको देशभर बालबालिकालाई दादुराविरुद्धको खोप लगाउने अभियान सञ्चालन गरिरहेका छन्।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार विश्वभर हरेक वर्ष करिब ९५ हजार मानिसको दादुराका कारण मृत्यु हुने गरेको छ। तीमध्ये अधिकांश पाँच वर्षमुनिका तथा खोप नलगाएका वा पूर्ण खोप नपाएका बालबालिका हुने गरेका छन्।

प्रतिक्रिया