११ महिनादेखि अमेरिका रहेका प्रकाश देउवाको सांसद पद रिक्त

nepaltext

कैलाली । सुदूरपश्चिम प्रदेशसभा सदस्य तथा पूर्वभौतिक पूर्वाधार विकासमन्त्री प्रकाशबहादुर देउवाको सांसद पद रिक्त भएको छ।

प्रदेशसभा सचिवालयले तयार गरेको पद रिक्तसम्बन्धी टिप्पणी आदेशलाई मंगलबार सभामुख भीमबहादुर भण्डारीले स्वीकृत गरेपछि देउवाको पद रिक्त भएको प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीले जानकारी दिए।

 

जैसीका अनुसार देउवा प्रदेशसभालाई पूर्वसूचना नदिई लगातार १० भन्दा बढी बैठकमा अनुपस्थित भएकाले संविधानबमोजिम पद रिक्त गरिएको हो। सभामुखले बुधबार बस्ने प्रदेशसभा बैठकमा यसबारे औपचारिक जानकारी गराउनेछन्। त्यसपछि राजपत्रमा सूचना प्रकाशित गरी निर्वाचन आयोगलाई जानकारी गराइनेछ।

गत वर्ष भदौ २८ गते भएको जेनजी आन्दोलनपछि व्यक्तिगत कामका लागि अमेरिका गएका देउवा त्यसयता नेपाल फर्किएका छैनन्। अमेरिकामै स्वास्थ्य समस्या देखिएपछि उपचार र आराममा रहेको जानकारी उनले प्रदेशसभा सचिवालयलाई गराएका थिए।

सचिवालयका अनुसार अमेरिका बसे पनि सांसद पद कायम रहेकाले देउवाले पारिश्रमिकसहित विभिन्न सेवा–सुविधा लिँदै आएका थिए। पछिल्लो ११ महिनामा उनको खातामा पारिश्रमिक तथा सेवा–सुविधाबापत ७ लाख ५३ हजार ५ सय रुपैयाँ भुक्तानी भएको छ। सचिवालयले मासिक रूपमा पारिश्रमिकसहित धारा–बिजुली, सञ्चार र अतिथि सत्कारलगायत शीर्षकमा ६८ हजार ५ सय रुपैयाँ उपलब्ध गराउँदै आएको जनाएको छ।

छैटौँ अधिवेशनका पाँच बैठकमा लगातार अनुपस्थित भएपछि देउवाले चैत २३ गते सभामुखलाई पत्र पठाएर आफू अमेरिकामा स्वास्थ्य परीक्षण तथा उपचारमा रहेको जानकारी दिएका थिए। स्वास्थ्यमा सुधार आएपछि नेपाल फर्किने बताएका भए पनि उनी अहिलेसम्म फर्किएका छैनन्।

प्रदेशसभा सचिवालयका अनुसार देउवा पछिल्ला २७ वटा बैठकमा सहभागी भएका छैनन्। उनी कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को (२) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

प्रतिक्रिया