काठमाडौं । उपसभामुख रुबी ठाकुरले जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठविरुद्ध प्रहरीमा जाहेरी दर्ता गराएकी छन्। ठाकुरले सोमबार जिल्ला प्रहरी परिसर ललितपुरमा श्रेष्ठविरुद्ध जाहेरी दिएकी हुन्।
जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी तुलबहादुर कार्कीले उपसभामुखबाट जाहेरी प्राप्त भएको पुष्टि गर्दै घटनाबारे अध्ययन भइरहेको जानकारी दिए। ‘जाहेरी आएको छ, हामी अध्ययन गर्दैछौँ,’ उनले भने।
जनआस्थामा केही दिनअघि प्रकाशित समाचार सामग्रीले आफ्नो चरित्र, प्रतिष्ठा र सामाजिक मर्यादामा असर पुर्याएको उपसभामुख ठाकुरको दाबी छ। उनले उक्त सामग्रीलाई लिएर श्रेष्ठमाथि कानुनी कारबाही गर्न माग गरेकी छन्।
यसअघि सांसद अमरकान्त चौधरीसँग सम्बन्धित सामग्री प्रकाशन गरेको आरोपमा पक्राउ परेका श्रेष्ठलाई सर्वोच्च अदालतले सोमबार रिहा गर्न आदेश दिएको थियो। साउन २५ गते जनआस्था डटकममा चौधरीसँग एक युवतीको तस्बिरसहित सामग्री प्रकाशित भएपछि श्रेष्ठ पक्राउ परेका थिए।
सो प्रकरणमा दिपिका सिंहले श्रेष्ठविरुद्ध वैयक्तिक गोपनीयतासम्बन्धी कसुरमा जाहेरी दिएकी थिइन्। सोही जाहेरीका आधारमा अनुसन्धानका क्रममा पक्राउ परेका श्रेष्ठ बन्दी प्रत्यक्षीकरण रिटपछि सर्वोच्च अदालतको आदेशमा रिहा भएका हुन्।