गर्ल्स होस्टेल र बढी मूल्यमा बिक्री गर्ने ओलीज स्टोरलाई ५ लाख जरिवाना

nepaltext

काठमाडौँ । उपभोक्ता ठगी तथा नियमविपरीत व्यवसाय सञ्चालन गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँका दुई व्यावसायिक फर्मलाई ५ लाख रुपैयाँ जरिवाना गरेको छ ।

विभागले मंगलबार गरेको बजार अनुगमनका क्रममा काठमाडौँ महानगरपालिका–३२, कोटेश्वरस्थित न्यु फेमिली गर्ल्स होस्टेललाई ३ लाख रुपैयाँ जरिवाना गरेको हो । विद्यार्थी भर्नाका क्रममा प्यान बिल जारी नगरेको तथा अस्वस्थकर खाना खुवाएको पाइएपछि उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम उक्त कारबाही गरिएको विभागले जनाएको छ ।

त्यस्तै, तोकिएको मूल्यभन्दा बढीमा सामान बिक्री गरेको पाइएपछि महाराजगञ्जस्थित ओलीज स्टोर प्रालिलाई २ लाख रुपैयाँ जरिवाना गरिएको छ ।

अनुगमनका क्रममा कैफियत भेटिएका अन्य तीन व्यवसायलाई आवश्यक कागजातसहित तीन दिनभित्र विभागको बबरमहलस्थित कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ । पुल्चोकस्थित खाना डट कमलाई व्यवसाय दर्ता प्रमाणपत्र, कर चुक्ता प्रमाणपत्र, प्रयोग भइरहेको क्यूआर कोडको बैंक स्टेटमेन्ट तथा खरिद–बिक्रीका कागजातसहित उपस्थित हुन भनिएको छ ।

यस्तै, कीर्तिपुरस्थित क्षितिज मेडिकल स्टोरलाई बिक्री गरिएका औषधिको मूल्य पुष्टि हुने नमुना औषधि र बिलसहित तथा बुढानीलकण्ठस्थित विश्राम रेस्टुरेन्ट एण्ड बारलाई ग्यास डिलरको प्रमाणपत्र, खरिद–बिक्री बिल र वितरण विवरणसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ ।

विभागको टोलीले अनुगमनका क्रममा अन्य व्यवसायलाई समेत सुधारका लागि निर्देशन दिएको छ । काठमाडौँको वाटिका ट्रेडर्सलाई अनिवार्य रूपमा बिल–बिजक जारी गर्न तथा ललितपुरको संगीज एपरल स्टुडियोलाई खरिद–बिक्री बिल र एमआरपी लेबल व्यवस्थित गर्न भनिएको छ ।

त्यस्तै, भक्तपुरको गठ्ठाघरस्थित न्यू रिस्सा स्विट्सलाई खाद्य स्वच्छता तथा गुणस्तरसम्बन्धी मापदण्ड पालना गर्न, गाम्चास्थित गायत्री स्पाइसेस एण्ड फुडलाई नियमित बिल जारी गर्न र दधिकोटस्थित गढीमाई तेल मिललाई एमआरपी स्टिकर तथा लेबल भएका सामान मात्र बिक्री गर्न र मूल्यसूची व्यवस्थित गर्न सचेत गराइएको छ ।

यसैबीच, बजार अनुगमनका क्रममा ग्यासको सहज बिक्री–वितरण गरेको भन्दै विभागले काठमाडौँ चक्रपथस्थित सीता ग्यास स्टोरलाई धन्यवाद दिँदै आगामी दिनमा पनि सेवा निरन्तर राख्न आग्रह गरेको छ । मध्यपुर थिमीस्थित भट्ट सप्लायर्सलाई भने ग्यासको सहज आपूर्ति व्यवस्था मिलाउन निर्देशन दिइएको विभागले जनाएको छ।

jariwana_FJuOiRwvLz-1787056508.png

प्रतिक्रिया