काठमाडौं । नेपाली कांग्रेसले फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै फागुन ७ गतेबाट औपचारिक चुनावी सभा सुरु गर्ने भएको छ। पहिलो ठूलो चुनावी सभा मधेश प्रदेशको जनकपुरमा आयोजना गर्ने तयारी गरिएको छ, जसलाई कांग्रेसले रणनीतिक रूपमा महत्वपूर्ण मानिरहेको छ। यसपटक पार्टी सभापति गगन थापा सर्लाही–४ बाट चुनावी प्रतिस्पर्धामा उत्रिँदै छन्, र यही सन्दर्भमा मधेशबाट अभियान सुरु गरेर सशक्त सन्देश दिने कांग्रेसको योजना छ। उक्त सभालाई सभापति थापासहित उपसभापति विश्वप्रकाश शर्मा र अन्य शीर्ष नेताहरूले सम्बोधन गर्ने सहमहामन्त्री डिला संग्रोलाले जानकारी दिइन्। उनले भनिन्, ‘प्रमुख वक्ता सभापति र उपसभापति रहनुहुनेछ, त्यसपछि प्रदेश र जिल्ला अनुसार आवश्यकता अनुसारको पार्टीको नेताहरू चुनावी अभियानमा जाने तय भएको छ ।’ उनका अनुसार समयले भ्याएसम्म सभापति थापा र उपसभापति शर्मा देश दौडाहामा निस्किएर चुनावी अभियानलाई तीव्र बनाउने तयारीमा छन्। कांग्रेसले थापालाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रूपमा अघि सारेको छ भने शर्मा निर्वाचन परिचालन समितिको संयोजकको जिम्मेवारीमा छन्। यही कारण सभापति थापा र उपसभापति शर्मा दुबै चुनावी सभालाई सम्बोधन गर्न देशभर सक्रिय रूपमा खटिने तयारीमा रहेको कांग्रेस स्रोतले जनाएको छ।