काठमाडौँ । जेन–जी आन्दोलनको जाँचबुझ गर्न गठित आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकको बयान सकिएलगत्तै तत्कालीन प्रधानमन्त्रीको हैसियतले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पत्र लेख्ने तयारी गरेको छ । आयोगका प्रवक्ता विज्ञानराज शर्माका अनुसार मंगलबार लेखकलाई लेखिएको पत्र उनलाई पठाइसकिएको छ र लेखकको बयानपछि तत्कालीन प्रधानमन्त्री ओलीलाई पनि औपचारिक रूपमा पत्र पठाइनेछ । उनले भने, ‘हामी पालैपालो उहाँहरुसँग कुरा गर्ने तयारीमा छौँ, पहिला तत्कालीन मन्त्रीज्यूसँग कुरा हुन्छ, त्यसपछि तत्कालीन प्रधानमन्त्रीज्यूलाई पत्र लेख्छौँ,’ । जाँचबुझको काम सकेर सरकारलाई प्रतिवेदन बुझाउनुपर्ने समयसीमा नजिकिँदै गएको भन्दै आयोगले छिटो काम टुंग्याउने सोच बनाएको शर्माले बताए ।
आयोगले घटनासँग सम्बन्धित सत्यतथ्य संकलन गरी सरकारलाई यथार्थ जानकारी गराउने उद्देश्य राखेको उल्लेख गर्दै शर्माले भने, ‘सत्यतथ्य जे हो, हामीले त्यही जानकारी सरकारलाई दिने हो, त्यसका लागि तत्कालीन समयका जिम्मेवार पदाधिकारीले सहयोग गर्दै आउनुभएको छ,’ । उनले थपे, ‘फेरि पनि अन्य पदाधिकारीज्यूहरुले त्यसरी नै सहयोग गर्नुहुन्छ भन्ने विश्वास छ ।’ यद्यपि, पत्र पठाइएको भन्ने समाचार बाहिरिएपछि तत्कालीन गृहमन्त्री लेखक बयानमा जाने कि नजाने भन्ने विषयमा आन्तरिक परामर्शमा रहेका छन् । अर्कोतर्फ, तत्कालीन प्रधानमन्त्री ओलीले भने आयोगको हैसियतप्रति नै प्रश्न उठाउँदै बयान दिन नजाने अडान सार्वजनिक रूपमा राख्दै आएका छन् ।