काठमाडौं । प्रतिनिधिसभा सदस्य खुश्बु ओलीले विगत ३५ वर्षको राजनीतिक बहस दोहोर्याएर समय खर्चिनुभन्दा वर्तमान सरकारले परिणाम देखाउने गरी काम गर्नुपर्ने बताएकी छन्।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले ‘३५ वर्षमा के भयो?’ भन्ने प्रश्नमै अल्झिरहनुको सट्टा अघिल्ला सरकारले पूरा गर्न नसकेका काम सम्पन्न गरेर उदाहरण प्रस्तुत गर्न सरकारलाई आग्रह गरिन्।
ओलीले विगत ३५ वर्षको सम्पूर्ण राजनीतिक जिम्मेवारी अहिलेका सबै सांसदमाथि नपर्ने उल्लेख गर्दै, अहिले संसदमा रहेका धेरै प्रतिनिधि त्यस अवधिमा सक्रिय राजनीतिमा नरहेको बताइन्। आरोप–प्रत्यारोपमा समय खर्चिनुभन्दा जनताले अनुभूति गर्ने काम गरेर देखाउनुपर्ने उनको भनाइ थियो।
उनले भनिन्, ‘३५ वर्ष उहाँहरूले गर्न नसकेका काम अब तपाईंहरू गर्नुस्। लेट्स लिड बाइ एक्जाम्पल। ३५ वर्षको आक्रोशले आज सत्ता पक्षलाई यो शक्ति दिएको छ भने, त्यही ३५ वर्षको अपेक्षा पनि अहिले तपाईंहरूको काँधमा आएको छ।’